काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा आफू संविधानभन्दा माथि हुँ भन्ने दम्भ देखिएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘तीन वर्षमा देशमा भ्रष्टाचारका काण्डैकाण्ड भए। बहुमूल्य सरकारी जग्गा व्यापारिक घरानालाई दिने काम भयो। राष्ट्रिय गौरवका महत्वपूर्ण आयोजना भ्रष्टाचारका कारण विलम्ब भएका छन्। प्रधानमन्त्रीले नै अनियमितताको बचाउ गरे। सरकारले सुशासन कायम गर्न सकेन।’
संविधान कार्यान्वयनमा पनि सरकार विफल भएको देउवाको भनाइ थियो। कानुन नबन्दा प्रदेश र स्थानीय तहले आफ्ना अधिकार प्रयोग गर्न नपाएको उनले बताए।
देउवाले थपे, ‘तपाईंले चुनावमा गरेका बाचा, रेल यात्रा, पानी जहाजको सफर, भान्छामा ग्यास, कसैले रोजगारीका लागि विदेश जानु पर्दैन भन्ने कुरा कहाँ गए? यो सरकारको गठनपछि शान्ति सुरक्षा खस्किँदै गएको छ। सरकार अपराधीलाई कानुनी दायरामा ल्याउन विफल भएको छ। निर्मला पन्तका हत्यारा पक्राउ पर्न सकेका छैनन्। देशमा यस्ता धेरै घटना भएका छन्। दण्डहीनता मौलाएको छ। सरकारले अधिनायकवादी चरित्र देखाएका कारण आमजनताले सास्ती पाइरहेका छन्। सरकारी संयन्त्रमा दलीय हालीमुहाली छ।