काठमाडौ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सञ्चालनको जिम्मेवारी लिएकाहरुबाट नै लोकतान्त्रिक गणतन्त्र असुरक्षित भएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘यो प्रश्न अहिलेमात्र होइन, इतिहासले पनि सोध्नेछ। तीन वर्षपछि प्रधानमन्त्री विश्वासको मत माग्न आउनुमा को जिम्मेवार छ? हाम्रो संविधानलाई प्रधानमन्त्रीलाई कार्यकारी अधिकार दिएको छ। देश र जनताका पक्षमा काम गर्न उहाँलाई कसले कहाँ रोक्यो? हामीले रचनात्मक प्रतिपक्षीका रुपमा भूमिका निर्वाह गर्दा आलोचित पनि भयौं। तर आफू काम गर्न नसक्ने अरुलाई दोष थोपरेर प्रधानमन्त्री भाग्न पाउनुहुन्छ? प्रधानमन्त्री पूर्ण असफल हुनुभएको छ।
दुनियाँबाट भागे पनि आफैंबाट ओली भाग्न सक्नुहुन्न। यो अवस्था तपाईंकै कारण उत्पन्न भएको होइन? संसद्मा छलफल गरिरहेका अवस्थामा नेपाली जनता कोरोनाबाट छटपटिँदै मरिरहेको अवस्था छ। महामारीको एक वर्षमा पनि सरकारले नियन्त्रणमा कुनै सफलता प्राप्त गर्न सकेन। प्रतिपक्षीले रचनात्मक सुझाव दिँदा पनि पत्याएन र सुनेन।’
देउवाले थपे, ‘महामारीका बेला धरहरा उद्घाटन गर्न जानु गैरजिम्मेवारी हो। कमिसनका कारण खोप नआएको सार्वजनिक भइसकेको छ। जनताको जीवनरक्षा गर्नुपर्ने सरकारले अक्षम्य अपराध गरेको छ। एक वर्षअघि पनि स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भयो। अहिले खोपमा भ्रष्टाचार भएको छ। यो भन्दा निर्लज्जता के हुन्छ? व्यापारिक घरानालाई पोस्नका लागि नेपाली जनताको जीवनमा दाउ राख्दा तपाईंलाई कसले माफी दिन्छ? जनताका लागि अक्सिजनको समेत व्यवस्था गर्न नसक्ने, जनता मरिरहँदा टुलुटुलु हेरिबस्ने प्रधानमन्त्री आत्मप्रशंसा गर्न कसरी सुहाउँछ ?
सरकार गठनदेखि नै संविधानको उल्लंघन भएको देउवाको भनाइ थियो। उनले भने, ‘सभामुख र उपसभामुख चयनमा उल्लंघन भयो। उपसभामुख खाली राखिएको छ। सभामुख र उपसभामुख फरफरक दलको हुुनुपर्ने प्रावधानलाई लत्याइएको छ। संसद् विघटन गरेर अधिनायकवादी चरित्र उदांगो पार्नुभयो। विगत तीन वर्षमा संविधान उल्लंघन गर्दै संसदीय व्यवस्थाविपरीतका कार्यहरु भएका छन्। राज्यका महत्त्वपूर्ण निकाय आफू मातहत राखियो। हुकुमी शैलीमा शासन गर्न खोजियो। संसद् छलेर अध्यादेशमार्फत सरकार चलाउन खोजियो। संवैधानिक परिषद्लाई आफू अनुकूल बनाउने गरियो। दल विभाजन, सांसद अपहरण गर्ने जस्ता घटना भए।