काठमाडौं– प्रधानमन्त्री केपी ओलीले सरकारको सफलता नेदख्ने तर एकाध कुरामा असफल हुँदा बढाइचढाइ गर्ने प्रवृत्ति बढेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘आपराधिक गतिविधिमा संलग्नलाई पहिचान गरी दोषीमाथि कारबाही गरिएको छ। आग्रह, पूर्वाग्रह, प्रतिशोधका हिसाबले वर्तमान सरकारले कुनै काम गर्दैन। त्यस कारण यो सरकारलाई विश्वास नगर्नुको कारण नै छैन। यदि हामी सत्यलाई स्वीकार गरेर अघि बढ्छौं भने विश्वास नगर्नुपर्ने कुनै कारण नै छैन। त्यसकारण मैले विश्वासको मत लिने र सदनको आफूमाथि विश्वास छ भन्ने प्रस्ट गर्न चाहेको हुँ।’
विकास पूर्वाधारका क्षेत्रमा, राजमार्ग, बाटाघाटा, पुल, सुरुङ मार्गको नयाँ युगमा प्रवेश गारउने सन्दर्भमा सरकार सफल भएको दाबी उनले गरे। ‘नयाँनयाँ हवाई मैदान तीव्रताका साथ अघि बढाउने सन्दर्भमा काम भएका छन्। सञ्चारका क्षेत्रमा यति धेरै काम भएका छन्। फोरजी सेवा सबैतिर पुगेको छ। फाइभजी विस्तार हुँदै छ। आफ्नै मोबाइलबाट जग्गाको कित्ता हेरेर कारोबार गर्न सकिने भएको छ,’ प्रम ओलीले भने।