काठमाडौं– प्रधानमन्त्री केपी ओलीले सरकारले अनुचित अडानमा सम्झौता नगर्ने प्रष्ट पारेका छन्।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘यसबारे पटकपटक भन्दै आएको छु। यस्तो अवस्थामा सदनको ममाथि विश्वास छ भन्ने प्रस्ताव गर्न आवश्यक छ भनेर उपस्थित भएको छु। हामी सार्वभौम जनताको प्रतिनिधित्व गरेर यहाँ उभिएका छौं। जनताको भावना र हितको प्रतिनिधित्व गरेका छौं। यस्तो अवस्थामा हामीले विचारको आग्रह र आफ्ना स्वार्थबाट निर्देशित भएर होइन, कहाँ सम्बद्ध छु भनेर होइन, आबद्धता वा संलग्नतालाई हेरेर होइन, सत्यलाई पछ्याएर निर्णय गर्नुपर्ने अवस्था छ। यदि हामीले सत्यलाई पछ्याउँछौं भने वर्तमान सरकारलाई कुनै पनि हिसाबले अविश्वास गर्नुपर्ने अवस्था छैन।’
प्रम ओलीले थपे, ‘एउटा अग्निपरीक्षा होइन, राष्ट्रियता स्वाधीनता, भौगोलिक अखण्डताको रक्षा र पहरदारीको सन्दर्भमा, राष्ट्रिय हितका सन्दर्भमा, स्वाभिमान माथि उठाउने सन्दर्भमा सरकारले कुनै कसर नराखेको कुरा तर्क गरिरहनु पर्देन। तस्बिर आफैं बोल्छ, सत्य आफैं बोल्छ, हाम्रा अडान, प्रस्तुति, उपलब्धि आफैं बोल्छन्। तसर्थ राष्ट्रियताका सवालमा अन्तर्राष्ट्रिय मञ्चमा खेलेको भूमिका हेर्ने हो भने नेपाल सुनिन थालेको, देखिन थालेको र सुन्नुपर्ने आवश्यकता महसुस गर्न थालेको देशका रुपमा परिचित छ। हाम्रा काम आफैं बोल्छन्।’