काठमाडौं - पल्स अक्सिमिटरको कालोबजारी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
अक्सिमिटरमा कालोबजारी गरी बढी रकम असुल्ने गरेका जनकपुर उपमहानगरपालिका-९ बस्ने सिरहा खुसीपुर नगरपालिकाका-२ बिनिता सर्जिकल स्टोरका सञ्चालक भूपनारायण शाहलाई प्रहरीले पक्राउ गरेको हो।
कोरोेना भाइरसको संक्रमण बढ्दै गएपछि सर्वसाधारणले घरमै अक्सिजनको मात्रा थाहा पाउन अक्सिमिटर खरिद गर्न थालेपछि अक्सिमिटरमा कालोबजारी हुन थालेको छ।
शाहले एक हजार ७०० रूपैयाँ पर्ने पल्स अक्सिमिटरको दुई हजार ५०० देखि तीन हजार रूपैयाँसम्म बिक्री गरिरहेका थिए। जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले शाहलाई २८ थान पल्स अक्सिमिटरसमेत नियन्त्रणमा लिएकोे छ।
प्रहरीले शाहलाई नियन्त्रणमा लिई थप अध्ययन अनुसन्धान गरिरहेको छ।