काठमाडौं - नेकपा एमालेको माधव-झलनाथ पक्षीय नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्र कमजोर पार्नु भएको प्रतिक्रिया दिएका छन्।
सिंहदरबारस्थित संसद् सचिवालय भवनमा बसेको सांसदहरूको बैठकपछि प्रतिक्रिया दिँदै उनले ओलीलाई विश्वासको मत दिन नहुने र जसरी पनि प्रधानमन्त्रीबाट हट्नुपर्ने धारणा राखे।
‘विश्वासको मत नदिँदा नै अहिले पर्याप्त हुने भएकाले यो निर्णय गरेका छौं। संविधान मिचेर असंवैधानिक काम गर्ने, भ्रष्टारजन्य क्रियाकलाप मलजल गर्ने, अध्यादेश जारी गरेर संवैधानिक परिषद्को मनपरी ढंगले बैठक गरेर स्वेच्छाचारी निर्णय गर्ने व्यक्तिलाई विश्वासको मत दिनु भनेको लोकतन्त्र कमजोर बनाउनु हो,’ उनले भने, ‘संविधानको रक्षा र एमालेको रक्षाका लागि थप कुरा गर्नुपर्ने हुँदा अहिले राजीनामा नगरेका हौं।’
नवौं महाधिवेशनबाट बनेको कमिटी भंग गरेर महाधिवेशन आयोजक कमिटी गठन गर्ने प्रधानमन्त्री ओली नै वैध अध्यक्ष नरहेको भन्दै रावलले अवैध अध्यक्षका हैसियतले दिएका निर्देशन कुनै पालना गर्नु आवश्यक नरहेको बताए। ‘उहाँको निर्देशन मान्नका लागि सर्वोच्च अदालतको फैसलाअनुसार एमालेलाई २०७५ जेठ २ मा लैजानुपर्छ,’ उनले भने, ‘त्यसो नगर्ने हो भने अवैध निर्देशन मान्नु आवश्यक छैन।’