सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

‘१० वर्ष पछाडि धकेलियो नेपाली फिल्म’, सम्भव होला डिजिटल रिलिज?  

चलचित्रक्रर्मी अशोक शर्माका अनुसार देशभर करिब २२ वटा हल सधैँका लागि बन्द भइसकेका छन्।
 |  आइतबार, वैशाख २६, २०७८
nespernesper

अनिल यादव

अनिल यादव

आइतबार, वैशाख २६, २०७८

काठमाडौं- अभिनेत्री रेखा थापा अघिल्लो साल नै नयाँ फिल्म बनाउने तयारीमा थिइन्। प्रि–प्रोडक्सनको काम लगभग सकिएको थियो। वैशाखबाट सिनेमा फ्लोरमा लाने तय भएको थियो। तर, चैतबाट सुरु भएको कोरोना महामारी र लकडाउनका कारण सबै योजना चौपट भयो। 

triton college

फेरि स्थिति सामान्य हुँदै थियो। बजारमा चहलपहल बढ्दै थियो। रेखालाई लाग्यो– अबचाहिँ माहोल ठिक होला। त्यसपछि अघिल्लो वैशाखमा रोकिएको सुटिङ यो वैशाखबाट भने पक्का गर्ने तयारीमा थिइन् उनी। तर, कोरोनाको दोस्रो लहर सुरु भएसँगै उनको ‘वैशाख योजना’ दोस्रो पटक पनि असफल भयो। 

रेखा थापा

त्यसपछि रेखा कोरोना नियन्त्रण भएर स्थिति सामान्य नभएसम्म फिल्म नै नबनाउने निष्कर्षमा पुगेकी छन्। ‘जबसम्म कोरोना नियन्त्रण हुँदैन, जबसम्म दैनिक जीवन सहज हुँदैन। जबसम्म आम दर्शकको आवश्यकतामा मनोरञ्जन पर्दैन, जबसम्म दर्शक हलसम्म आउने स्थिति बन्दैन, तबसम्म म फिल्म बनाउँदिनँ। त्यसैले मैले यो प्रोजेक्ट नै ड्रप गरिदिएँ। सबैसँग एडभान्स लिएका रकम पनि फिर्ता गरिसकेँ,’ रेखा भन्छिन्। 

०००

०७६ को चैत २८ मा रिलिजको तयारीमा थियो फिल्म ‘चपली हाइट ३’। फिल्मको प्रचारप्रसार सुरु भइसकेको थियो। तर चैत–१० गते सुरु भएको लकडाउनले निर्माता अर्जुन कुमारलाई निःशब्द बनायो। त्यसपछि आजसम्म उनले यो फिल्म रिलिज गर्न सकेका छैनन्। समय जति धेरै लम्बिन्छ, सिनेमा त्यति नै पुरानो हुन्छ भन्ने डर छ उनमा। 

Metro Mart
vianet
अर्जुन कुमार

यो बीचमा अर्जुन कुमारले नयाँ सिनेमा बनाउने सोच नबनाएका पनि होइनन्। तर, पछि यसले झन् बढी तनाव थप्ने निष्कर्षमा पुगे। ‘बाँचिन्छ कि बाँचिँदैन भन्ने स्थिति छ, करोडौं पैसा खर्च गरेर बनाएको पुरानै सिनेमा थन्किएर बसेको छ। यस्तोमा नयाँ सिनेमा बनाएर किन ऋण थोपरिरहनु ! पैसा र सिनेमा दुवै बर्वाद हुन्छ भनेर चुप लागेँ,’ चलचित्र विकास बोर्डका सदस्यसमेत रहेका निर्माता अर्जुन कुमार भन्छन्। 

०००

डिजिटल माध्यमबाट आयोजना भइरहेको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा आइतबार बहसको शीर्षक थियो– ‘कोभिडपछि नेपाली सिनेमाको अवस्था।’ बहसमा सहभागी फिल्मकर्मीको निष्कर्ष थियो– नेपाल सिनेमा तङ्ग्रिन अथवा पुरानै लयमा फर्किन अब सहज छैन। 

‘यो कोरोनाले फिल्म क्षेत्रमा सबैभन्दा बढी मारमा कसैलाई पारेको छ भने त्यो रिलिजका लागि तयार भएर बसेका निर्माताहरु, त्यसपछि चलचित्र भवन संचालकहरु,’ बहसका क्रममा नेपाल चलचित्र संघका महासचिवसमेत रहेका निर्माता एवम् कलाकार अशोक शर्मा भन्दै थिए, ‘अब नेपाली फिल्म इन्डष्ट्री १० वर्ष पछाडि धकेलिन्छ। हलमा गएर सिनेमा हेर्ने संस्कारमा ठूलो ब्रेक लागेको छ, अहिले। थिएटर खुल्नासाथ अर्थात् स्थिति सामान्य भइसक्दा पनि दर्शक हलमा सजिलै आउँदैनन्। अर्को किसिमको मिहिनेत गर्नैैपर्छ।’

अशाेक शर्मा

अशोकका अनुसार देशभर करिब २२ वटा हल सधैँका लागि बन्द भइसकेका छन्। अब निषेध आदेश खुले पनि ती खुल्ने छैनन्। ‘धेरैजसो मल्टिप्लेक्स हलहरु भाडाका घरमा छन्, यही अवस्था रहिरहने हो भने तिनीहरु पनि टिक्ने अवस्थामा छैनन्,’ अशोकले नेपाली फिल्म क्षेत्रको डरलाग्दो चित्र प्रस्तुत गरे। 

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीका अनुसार अहिले करिब ७० चलचित्र रिलिजको पर्खाइमा छन्। 

सम्भव छ डिजिटल रिलिज? 

सिनेमा हल थला परिरहेको यो समयमा धेरैले ओटीटी प्लेटफार्मलाई विकल्पका रुपमा प्रयोग गरिरहेका छन्। छिमेकी मुलुक बलिउडका धेरै कलाकारहरु नेटफ्लिक्स र अमेजनलगायत ओटीटी प्लेटफार्मका लागि काम गर्न थालिसके। 

सलमान खानको ‘राधे’ पनि ओटीटी प्लेटफार्ममा रिलिजका लागि तयार भएर बसेको छ। अक्षय कुमारको ‘लक्ष्मी बम’, अमिताभ बच्चन र आयुष्मान खुरानाको ‘गुलाबो सिताबो’ लगायत थुप्रै फिल्म अनलाइन प्लेटफार्मबाट रिलिज भइसके। तर, हामीकहाँ नेपाली फिल्मकर्मी डिजिटल प्लेटफार्म भरपर्दो विकल्प नभइसकेको बताउँछन्। 

नेपालमा पनि ‘फोपी’, ‘नेट टिभी’, ‘भिडियोपसल’, ‘सिनेमाघर’ जस्ता डिजिटल प्लेटफार्म छन्, जसले नेपाली फिल्म देखाइरहेका छन्। तर, यी कुनै प्लेटफार्मले फिल्म निर्माताको माग सम्बोधन गर्ने गरी चुनौती मोल्न तयार नभएको गुनासो फिल्मकर्मीको छ।

बहसमा सहभागी थिए, नेट टिभीका अध्यक्ष मनोज अग्रवाल। निर्माता अर्जुन कुमारले बहसमै उनीसँग प्रस्ताव राखे– ‘म तपाईलाई मेरो फिल्म ‘चपली हाइट–३ को सम्पूर्ण डिजिटल अधिकार दिन तयार छु। तर, कम्तीमा मेरो लगानी सुरक्षित हुन ग्यारेन्टी तपाई दिन सक्नुहुन्छ ?’ 

मनाेज अग्रवाल

जवाफमा अध्यक्ष अग्रवाल स्पष्ट सुनिएनन्। अग्रवालले नेट टिभीमार्फत् ५ लाख एप डाउनलोड भइसकेको सुनाउँदै भने, ‘विश्वभर अहिले मनोरञ्जनको प्याराडाइम नै परिवर्तन भइसक्यो। मनोरञ्जन ड्रइङ रुमबाट मान्छेको हातहातसम्म आइपुग्यो। त्यसैले नेपाली फिल्मकर्मीले अब सोचमा परिवर्तन ल्याउनुपर्‍यो।’

उनी ‘पे पर भ्यू’ मा फिल्म रिलिज गर्न सकिने बताउँदै थिए। दीपेन्द्र के. खनाल निर्देशित ‘आमा’ पनि यही शर्तमा रिलिज भएर राम्रो आम्दानी गरेको उनको तर्क थियो। 

निर्माता अर्जुन कुमार डिजिटल प्लेटफार्ममा जानु अहिले हाम्रो लागि दिवास्वप्न मात्रै रहेको बताउँछन्। ‘नेटफ्लिक्स, अमेजन हेर्ने दर्शक शहरमा मात्रै छन्, त्यो पनि सीमित,’ उनको तर्क छ, ‘अहिलेसम्म दर्शकले नेपाली सिनेमा हेरिरहेको होइन, हामीले जबरजस्ती हेरा’को हो। घोक्राएर हेरा’को हो। विदेशमा पनि जबर्जस्ती सानो हलमा जबर्जस्ती हेराउँथ्यौँ। यस्तो अवस्थामा नेपालमै रिस्क लिन सक्ने राम्रो डिजिटल प्लेटफार्मको विकास नभएसम्म डिजिटल रिलिज सम्भव छैन।’ 

नेट टिभीका अध्यक्षसामु उनको प्रश्न थियो– ‘आम्दानी बाँड्ने शर्तमा मात्रै मैले करोडौँ रकम लगानी गरेको सिनेमा कसरी दिऊँ ? जबकी युट्युब राइट्समार्फत् नै यहाँ ३०–४० लाख पैसा त हामीले पाइरहेकै हो। कम्तीमा ‘मिनिमम ग्यारेन्टी’ दिनसक्ने आँट त राख्नुपर्‍यो।’

रेखाको मत पनि यही थियो। ‘हाम्रो दर्शकको ठूलो हिस्सा डिजिटल प्रविधिबाट वञ्चित छ, त्यसैले ओटीटी प्लेटफार्म यहाँ म सहज देख्दिनँ,’ उनी भन्छिन्, ‘कसैले यही बेला नेपाली सिनेमालाई जोगाउने या उठाउने भनेर आउँछ भने कम्तिमा उसले मिनिमम ग्यारेन्टी दिएर भएर पनि अहिले बनेका थन्किएका फिल्महरु रिलिज गर्न सक्नुपर्यो। त्यसपछि मात्रै अरुले सोच्न सक्छन्। ’

निर्माता अशोक शर्मा त ओटीटी प्लेटफार्म नेपालका लागि दोस्रो विकल्पमात्रै हुनसक्ने बताउँछन्। ‘पहिलो विकल्प त थिएटर नै हो। किनभने सिनेमा त थिएटर संस्कार नै हो,’ उनको तर्क छ। 

बहसमा सहभागी फिल्मकर्मीहरु उपयुक्त डिजिटल प्लेटर्फाम नभएको निष्कर्षमा रहे पनि फिल्म निर्देशक नवीन सुब्बा संसारभर डिजिटल प्रविधि नै एकमात्रै उपायका रुपमा देखापरेको बताउँछन्। ‘कोभिडपछि संसारभर मानव सभ्यतादेखि शासन प्रणालीमै परिवर्तन हुने देखिन्छ,’ उनी भन्छन्, ‘अब डिजिटल प्रविधि नै एउटामात्रै उपाय हो भनेजस्तो देखिन्छ। तर, नेपालमा राजनीतिक, सांस्कृतिक कुनै पनि क्षेत्रमा त्यो तरिकाले बहस भएको छैन। परम्परागत हिसाबले मात्रै अब सिनेमा बाँच्न सक्छ जस्तो देखिँदैन। अहिले हल नखुल्दा पनि मान्छेहरुले घरमै बसेर सिनेमा त हेरिरहेका छन्। यसैले धेरै कुरा संकेत गर्छ, होइन र?’

नेपालकै डिजिटल एप ‘फोपी’का कार्यकारी निर्देशक प्रशान्तराज कार्की भने नेपाली फिल्मकर्मी डिजिटल प्लेटफार्मलाई विकल्प स्वीकार्न नसकेको बताउँछन्। ‘तीन-चार करोडमा बनेका फिल्म डिजिटल प्लेटफार्मबाट उठाउन सकिएला भनेर दाबी गर्न सकिँदैन तर अहिलेसम्मको अनुभवमा २०–२५ लाख सहजै कमाउन सकिन्छ,’ उनी भन्छन्, ‘कुनै पनि व्यापार परिपक्व हुन समय लाग्छ। हामीकहाँ डिजिटल व्यापार सुरु भएको तीन वर्षमात्रै भयो। यसबीचमा नेपाली फिल्मकर्मीले यसलाई फलाउन, फुलाउन खासै सहयोग गरेका छैनन्। तर, प्राविधिक पक्षमा भने धेरै राम्रो काम भइसकेको छ।’

फिल्मकर्मीले अब सिनेमा हललाई लक्षित गरेरमात्रै होइन, डिजिटल प्लेटर्फामलाई सोचेर पनि कन्टेन्ट निर्माण गर्न आवश्यक देख्छन् उनी।

प्रकाशित: May 09, 2021| 10:37 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्