बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार बिहानै सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोहलपुरका लागि लिक्विड अक्सिजन आइपुग्यो, दाङका लागि २ सय भन्दा बढी अक्सिजन सिलिन्डर आज आउँदैछ। रुपन्देहीको पनि समाधान हुँदैछ।’
मुख्यमन्त्री पोखरेलले यो स्टाटस लेखिरहँदा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आकस्मिक कक्षमा भने अक्सिजन नपाएर बिरामीहरू तडपिरहेका थिए। कोरोना संक्रमित बिरामी छटपटिँदै अक्सिजनको खोजीमा बिहानैदेखि भौतारिरहेका छन्।
तीन दिनदेखि आकस्मिक कक्षमा भर्ना भएकी तिलोत्तमाकी ३२ वर्षीय महिला अक्सिजन नपाएर तडपिरहेकी छन्। मध्यरातीदेखि श्वासप्रश्वासमा समस्या भएपछि बिरामीलाई हारगुहार गरेकी थिइन्। ‘डाक्टरले अक्सिजन खोजेर ल्याउनुस् भन्नुहुन्छ,’ उनले नेपाल समयसँग टेलिफोनमा कुरा गर्दै खोक्दै गरेको श्वरमा भनिन्, ‘लौ न अक्सिजन ल्याइदिनुस्, मलाई बचाउनुहोस्।’

उनी मात्रै होइन लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा भुइँदेखि बेडसम्म कोरोना संक्रमित बिरामी त्यसैगरि तडपिरहेका छन्। कतिपय बिरामीले महंगो मूल्यमा अक्सिजन किनेका छन्। धेरैजसो बिरामी भने अक्सिजनको खोजीमा भौतारिरहेका छन्।
आकस्मिक कक्षमा गएका बिरामीलाई आफै अक्सिजन बोकेर आउन अस्पतालले सुझाव दिने गरेको छ। ‘हामीसँग केही उपाय नै छैन। अक्सिजन नभएपछि खोजर ल्याउनुस भनेका हौं,’ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डन डा. राजेन्द्र खनालले भने।
अस्पतालका चिकित्सकले विगत चार दिनदेखि अक्सिजन सकिएकाले बिरामीको उपचार कठिन बनेको बताइरहेको छन्। तर, सरकारले भने गम्भीर नदेखिएको अस्पताल प्रशासनको गुनासो छ।
अस्पतालले अहिले एचडियू र आइसियूका लागि मात्रै अक्सिजन व्यवस्था गर्ने गरेको छ। फिभर क्लिनिक र आकस्मिक कक्षमा पल्टिएका बिरामीले भने आफै अक्सिजन बोकेर अस्पताल जानुपर्ने बाध्यता छ। अक्सिजनका लागि हारगुहार गरे पनि सप्लायर्सले माग अनुसार आपूर्ती नगरेको अस्पतालका मेसु खनालले बताए।
‘दैनिक ५ सयको हाराहारीमा अक्सिजनको खपत भइरहेको छ, सप्लयार्सले २ देखि ३ सयसम्म मुस्किलले सप्लाई गरिहेका छन्,’ डा. खनालले भने। उनले आफूहरूले अक्सिजन बिना उपचार गर्नु पर्दा निकै असहज भएको बताए।
यता अक्सिजनको जिम्मा लिएको प्रशासनले भने घरघरमा अक्सिजन नराख्न आग्रह गरेको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले अक्सिजन आइरहेको बताउँदै अब सहज हुने बताए।‘लिक्विड आएको छ, आज नेपालगञ्ज पठायौं, अरु अक्सिजन सिलिण्डर पनि आइरहेको छ,’ प्रजिअ तामाङले भने, ‘अब भोलीदेखि सहज हुन्छ।’