काठमाडौं - अफगानिस्तानको राजधानी काबुलस्थित एक विद्यालयबाहिर भएको बम विष्फोटमा २५ जनाको मृत्यु भएको छ। दर्जनौं घाइते भएका छन्।
घाइतेहरूमध्ये अधिकांश स्कुलका छात्राहरू रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्। अफगानिस्तान गृहमन्त्रालयका प्रवक्ता तारिक अरियानले विष्फोटमा २५ जनाको मृत्यु भएको र ५२ जना घाइते भएको बताएका छन्।
बम विष्फोटको कारण भने खुलेको छैन। शनिबार काबुलको पश्चिममा अवस्थित दश्त ए बार्ची स्कुलबाहिर विष्फोट भएको थियो, जहाँ धेरै संख्यामा छात्राहरु उपस्थित थिए।
अफगानी समुदायको इद उल फित्र चलिरहेको समयमा स्कुल मात्र नभई सर्वसाधारणसमेत किनमेलका लागि बजार निस्किएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
विष्फोट भएको स्थानमा सियाहजारा समुदायको बसोबास छ। केही वर्षयता सो क्षेत्र चरमपन्थी समूह इस्लामिक स्टेटको निशानामा पर्दै आएको छ।
बम विष्फोट छात्राहरू स्कुलबाट बाहिर निस्कने बेला गरिएको थियो।
बम विष्फोटको घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन भने तालिबान समूहले पनि घटनाको निन्दा गरेको छ। बीबीसी