डाेटी - जिल्ला कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ। कोरोना संक्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको कारागार प्रशासनले जनाएको छ।
कैदीका आफन्तसँगको भेटघाटबाट कारागारमा रहेका कैदीबन्दीलाई कोरोना सर्न सक्ने र जोखिम हुने भन्दै भेटघाट बन्द गरिएको कार्यालयका लालबहादुर बोगटीले बताए।
उनले भने, ‘जिल्लामा कोरोना संक्रमित दैनिक बढ्दै गइरहेका छन्, कैदीका आफन्त पनि भेटघाटमा आउने भएकाले कारागारमा पनि कोरोना सर्नसक्ने हुँदा सहज परिस्थिति नहुँदासम्म हामीले भेटघाट बन्द गरेका छौँ,’ उनले भने।
भेटघाट बन्दसँगै बाहिरबाट कोरोना परीक्षण नगरी ल्याइने कैदीबन्दीलाई समेत रोक लगाइएको उनको भनाइ छ।
कारागार प्रशासनले जिल्ला अदालतबाट कारागार चलान गरेका कैदीबन्दीको पनि कोरोना परीक्षण गरेर मात्र राख्ने गरेको छ।
कारागार प्रशासनले जिल्ला अदालतबाट पठाइएका कैदीबन्दीलाई आउनेबित्तिकै १५ दिन छुट्टै क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाएको छ। कारागारमा विभिन्न मुद्दाका दुई महिला र ४६ पुरुषसहित ४८ कैदीबन्दीलाई राखिएको छ । रासस