काठमाडौं - सांसदहरूले राजीनामा दिनेबारे थप छलफल गर्न एमालेको असन्तुष्ट पक्ष माधव नेपाल र झलनाथ पक्षको स्थायी कमिटी बैठक बस्दै छ।एमाले उपाध्यक्ष युवराज ज्ञवालीले आज दिउँसो स्थायी कमिटीको बैठक बसेर थप आवश्यक निर्णय लिइने बताए।
‘हिजो सांसदहरूको बैठक बसेर एक खालको निर्णय भएकाे छ। आज हामी स्थायी कमिटीको बैठक बसेर थप केही छलफल गर्छौं,’ उनले भने, ‘त्यसपछि केही निर्णय हुन्छ।’
उनले भौतिक माध्यमबाट बैठक बस्ने अवस्था नभएको भन्दै भर्चुअल माध्यमबाट भए पनि बैठक बस्ने भन्दै समय यकिन भइनसकेको बताए। शनिबार साँझ बसेको सांसदहरूको बैठकले २ जेठ २०७५ मा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई २४ घण्टे अल्टिमेटम दिने निर्णय गरेको थियो।
अदालतको फैसलाअनुसार अघि बढ्न अध्यक्ष ओली तयार नभए सामूहिक राजीनामा गर्न सांसदहरू तयार भएका छन्।
प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निम्ति भोलि संसद्को अधिवेशन बोलाइएको छ। त्यस अगाडि नै ओली २८ फागुन यताको निर्णय रद्द गर्न तयार नभए नेपाल समूहका सांसदहरूले राजीनामा गर्ने तयारी भएको छ।