तनहुँ – कोरोना भाइरसको नयाँ भेरियन्ट सुरु भएसँगै तनहुँका १० पालिकामध्ये सात पालिकाले १०० शय्या क्षमताको आइसोलेसन कक्ष स्थापना गरेका छन्।
कोरोना संक्रमितलाई सुरक्षित स्थानमा राखेर उपचार गर्नका लागि तनहुँका अधिकांश पालिकाले व्यवस्थित आइसोलेशन कक्ष स्थापना गरेका हुन्।
जिल्लाको शुक्लागण्डकी नगरपालिकाले दुई स्थानमा गरी ६५ शय्याको आइसोलेसन कक्ष निर्माण गरेको नगर उपप्रमुख सविता रसाइलीले जानकारी दिइन्।
नगरपालिका क्षेत्रमा अहिले कोरोना संक्रमितको संख्या न्यून रहेकाले आवश्यक देखिए क्षमता वृद्धि गर्दै जाने योजना रहेको उनले बताए।
ऋषिङ गाउँपालिकाले १०, म्याग्दे गाउँपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिका, घिरिङ गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाले पाँच/पाँच शय्याको आइसोलेसन कक्ष स्थापना गरेको बताएका छन्।
व्यास नगरपालिका, भानु नगरपालिका र बन्दिपुर गाउँपालिकाले आइसोलेसन कक्ष निर्माण गरेका छैनन्। व्यास–१ कराङकाठस्थित क्षत्री समाजको भवनमा ६३ जना क्षमताको क्वारेन्टिन कक्ष निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए।
नगरपालिकाका १४ वटै वडामा रहेका आमा समूह, सामुदायिक भवन र खाली जग्गामा आइसोलेसन कक्ष निर्माण गर्न नगरपालिकाले निर्देशन गरिसकेको उनको भनाइ छ।
भानु नगरपालिकाले गत वर्ष शारदा लोहनी विद्यालयमा २५ शय्या क्षमताको क्वारेन्टिन बनाएकाले अहिले पनि त्यसैलाई कायम गर्ने गरी प्रक्रिया अघि बढाउन लागेको नगर उपप्रमुख आशा थापाले जानकारी दिइन्। पालिकाभित्र कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गएको अवस्थामा तत्कालै आइसोलेसन कक्ष स्थापना गर्ने तयारीमा रहेको उनले बताए।
बन्दिपुर गाउँपालिकाले आइसोलेसन कक्ष निर्माणका लागि प्रक्रिया अघि बढाएको जनाएको छ। गाउँपालिकाभित्र सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिँदै आएको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले जानकारी दिए। रासस