काठमाडौं- राप्रपाले जनस्वास्थ्यसँग खेलवाड गर्ने कमिसनखोरलाई तत्काल छानबिन र कारबाही गरी कोरोना विरुद्धको खोपको सहज आपूर्ति गर्न सरकारसँग माग गरेको छ। राप्रपाका तीन अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले शनिबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, 'भारतको सिरम इन्स्टिच्युटसँग खरिद भएको र खरिद गर्ने भनिएको कोभिसिल्ड खोप कमिसन चलखेलका कारण आयात रोकिएको खवरले नेपाली जनमानस स्तब्ध, आश्चर्यचकित र आक्रोशित भएको छ। संकटको यो समयमा पनि नाफाआर्जनको मौकाका रुपमा लिइनु अमानवीय र व्यावसायिक धर्मविपरीतको कार्य हो।'
राप्रपाले विद्यमान कोभिड संकटको नियन्त्रण र रोकथाममा सम्पूर्ण सामर्थ्य लगाई नेपाली जनजीवनलाई थप नोक्सान हुनबाट जोगाउन सरकारलाई थप जिम्मेवार हुन आग्रह गरेको छ।
विज्ञप्तिमा भनिएको छ, 'देश नै अप्ठेरोमा परेको बेला हेलिकप्टर कम्पनीहरुले भाडामा व्यापक बृद्धि गरिनु, अत्यावश्यक औषधि, अक्सिजन लगायतका वस्तुको कालाबजारी हुनु अकल्पनीय र नेपालीको मौलिक चरित्र विपरीतका गतिविधि हुन्।'
यस्ता कार्यको प्रभावकारी अनुगमन गरी दोषीमाथि कारबाही गर्न पनि राप्रपाले सरकारसँग आग्रह गरेको छ।