जनकपुरधाम- प्रदेश २ का अस्पतालहरुमा स्वास्थ्य जनशक्तिको अभाव भएपछि प्रदेश सरकारले करारमा स्वास्थ्यकर्मीको अस्थायी दरबन्दीमा भर्ना गर्ने निर्णय गर्यो।
प्रदेश सरकारले गरेको निर्णय अनुरुप प्रदेशभरिका अस्पतालहरुमा ४१७ स्वास्थ्य जनशक्ति अस्थायी दरबन्दीमा भर्ना गरेको छ। प्रदेशभरका अस्पतालहरुमा सबैभन्दा बढी भेन्टिलेटर चलाउने जनशक्तिको अभाव हो।
महोत्तरीको जलेश्वरमा रहेको अस्पतालमा ५ वटा भेन्टिलेटर त छन् तर भेन्टिलेटर चलाउने जनशक्ति नै छैन। जलेश्वर अस्पतालमा जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगविहीन अवस्थामा छन्। अस्पताल प्रशासनलाई प्रदेश सरकारले दरबन्दी माग गर्न पत्र लेख्न भनेको थियो। सोहीअनुरुप अस्पताल प्रशासनले कोरोना महामारीको समयमा सहज सेवा प्रदान गर्ने उद्देश्यले पत्र लेख्दै २५ जना जनशक्तिको माग गरेको थियो।
प्रदेश सरकारले २५ जना स्वास्थ्यकर्मी नभएर २३ जना स्वास्थ्य जनशक्ति पठाएको जलेश्वर अस्पताल विकास समितिका अध्यक्ष सुरेश पाण्डेले जानकारी दिए।
उनले भने ‘प्रदेश सरकारले पठाएको स्वास्थ्यकर्मीमा न इन्टर्नल मेडिसिन छ, न एमडी एनेस्थेसिया छ न त रेडियोलोजिस्ट नै।’ अगाडि भने ‘प्रदेश सरकारले पठाएको जनशक्तिमा स्टाफ नर्स, मेडिकल अफिसर मात्रै छन्, जबकी भेन्टिलेटर चलाउनका लागि इन्टर्नल मेडिसिन र एमडी एनेस्थेसिया आवश्यक हुन्छ।’
जलेश्वर अस्पतालमा कुल २८ जनाको स्थायी दरबन्दी रहेकोमा २२ जना कर्मचारी कार्यरत छन्। २२ जना कार्यरत स्थायी कर्मचारीहरुमध्ये पनि ८ जना कार्यालय सहयोगी र १ जना प्रशासनमा कार्यरत कर्मचारी रहेको अध्यक्ष पाण्डेले बताए।
अस्पतालमा जनशक्ति अभावका साथै भेन्टिलेटर चलाउने दक्ष जनशक्ति नहुँदा ठूलै समस्या भइरहेको भन्दै अस्पताल विकास समितिका अध्यक्ष पाण्डेले भने, ‘कोरोना महामारीको बेला भेन्टिलेटरको प्रयोग अपरिहार्य भइसकेको छ, तर जनशक्ति अभावका कारण जनताको अपेक्षामाथि हामी खडा उत्रिन सकिरहेका छैनौँ।’
पाण्डेले भेन्टिलेटर अभावकै कारण जलेश्वर अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै प्रदेश सरकारले २ दिनभित्र भेन्टिलेटर अस्पताललाई उपलब्ध नगराए भोक हडतालमा बस्ने चेतावनी दिए। उनले यस्तो महामारीको समयमा पनि प्रदेश सरकारले जनशक्ति उपलब्ध गराउन आनाकानी गरिरहेको समयमा सरकारलाई दवाब दिनका लागि भए पनि भोक हडतालमा बस्ने चेतावनी दिए।
भेन्टिलेटर अभावमा एक बिरामीको मृत्यु
यसैबीच अस्पतालमा भेन्टिलेटर सेवा संचालन नहुँदा कोरोना संक्रमितको ज्यान गएको छ।
बिहीबार श्वासप्रश्वासमा समस्या भएपछि बिरामीलाई जलेश्वर आस्पतालको आइसोलेसन कक्षमा अक्सिजन दिएर राखिएको थियो। शुक्रबार उनमा कोरोना संक्रमण देखिएको थियो।
शनिबार राति साढे ८ बजे उपचारमा संलग्न चिकित्सकले थप उपचारका लागि भेन्टिलेटरमा राख्नु पर्ने परिवारजनलाई जनकारी दिएका थिए। ‘एम्बुलेन्स खोज्दाखोज्दै रातिको साढे १० बज्यो,’ मृतक परिवारका एक जनाले भने, ‘गाउँबाट बल्ल एम्बुलेन्स आइपुग्यो।’ जनकपुर लैजाँदै गर्दा बाटोमै संक्रमितको मृत्यु भएको जलेश्वर अस्पताल विकास समितिका अध्यक्ष सुरेश पाण्डेले बताए।
अस्पतालमा कोरोना संक्रमितलाई बोक्ने एम्बुलेन्स नहुँदा समस्या भएको छ। अक्सिजनसहितको १५ बेडको अस्थायी कोभिड अस्पताल एक साता अघिदेखि अस्पतालले सञ्चालनमा ल्याएको थियो।
महोत्तरीको सदरमुकाममा पर्ने जलेश्वर अस्पतालसँग एउटा मात्रै थोत्रो एम्बुलेन्स छ। ‘निजी संघसंस्थालाई सरकारले एम्बुलेन्स दिन्छ। तर, सरकारी अस्पताल पुरानो एम्बुलेन्सको भरमा चल्छ,’ अध्यक्ष पाण्डेले भने, ‘अस्पतालमा नर्मल बिरामीका लागि मात्रै एम्बुलेन्स छ। कोराना संक्रमितलाई बोक्न एम्बुलेन्स पनि छैन।’ अस्पतालमा ६० वटा अक्सिजन सिलेण्डर कोरोना संक्रमितका लागि जोहो गरेर राखिएको छ।
गत वर्ष जलेश्वर अस्पतालले २ करोड बढीमा ५ वटा भेन्टिलेटर खरिद गरेको थियो। तर, जनशक्ति नहुँदा भेन्टिलेटर थन्किएको छ।
जलेश्वर अस्पतालमा २ जना कोरोना संक्रमित मात्रै अहिले उपचार गराइरहेका छन् भने कोरोना संक्रमणका कारण हालसम्म महोत्तरीमा २१ जनाको मृत्यु भइसकेको छ।