काठमाडौं– संघीय संसदमा २६ जना सांसदलाई कोरोना भाइरस संक्रमण भएको छ। यही वैशाख २६ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकलाई लक्षित गर्दै गरिएको पीसीआर परीक्षणका क्रममा उनीहलाई संक्रमण देखिएको हो।
संक्रमित सांसदहरुमा झलनाथ खनाल, मुकुन्द न्यौपाने, मायादेवी न्यौपाने, पार्वती डिसी चौधरी, राजेन्द्रप्रसाद गौतम, नन्दलाल रोका क्षेत्री, लालबाबु पण्डित, लक्ष्मणलाल कर्ण, नरमाया ढकाल, महेश बस्नेत, रामबाबु यादव छन्।
त्यसैगरी गोपालबहादुर बम, नमीता कुमारी चौधरी, शान्तिमाया तामाङ, विना कुमारी श्रेष्ठ, रेनुका गुरुङ, जुलीकुमारी महतो, रघुवीर महासेठ, किसान श्रेष्ठ, सुरेश कुमार राई, पुष्पा कुमारी कर्ण कायस्थ, भानुभक्त ढकाल, बीना मगर, भरतकुमार शाह, प्रमोद शाह र दिपकप्रकाश भट्टलाई पनि संक्रमण देखिएको छ।
संक्रमित सांसदहरु बैठकमा सहभागी हुन पाउने वा नपाउने भन्ने बारेमा टुंगो लागिसकेको छैन। संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले यसबारे निर्णय भइनसकेको र भोलि आइतबार बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाउने बताए। संक्रमित सांसदका लागि वैकल्पिक व्यवस्था गरिने उनको भनाइ छ।
प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने निर्णय गरेपछि आगामी सोमबारका लागि संसद् बैठक बोलाइएको छ।