विराटनगर- प्रदेश १ का स्थानीय तहका जनप्रंतिनिधिहरुले प्रयोग गर्दै आएका सवारी साधन कोरोना संक्रमितलाई अस्पताल पुर्याउनका लागि भन्दै धमाधम एम्बुलेन्स बनाउने लहर चलेको छ।
शुक्रबार सुनसरीको इनरुवाका उपप्रमुख जमुनादेवी गौतमले आफ्नो सवारी कोभिड संक्रमितलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि दिने घोषणा गरिन्।
उनको सामाजिक सञ्जालमा राम्रै प्रतिक्रिया आयो। इनरुवाकी उपप्रमुखले प्रदेश १ मै पहिलोपटक आफ्नो सवारी संक्रमित ओेसार्नका लागि दिने घोषणा गरेपछि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले आफूले चढ्ने गरेको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने विज्ञप्तिमार्फत् सार्वजनिक गरे।
कोरोना संक्रमितहरुले बेलैमा एम्बुलेन्स प्राप्त गरेर अस्पताल जान नसकेको बेला अहिलेको स्वास्थ्यसम्बन्धी विषम परिस्थितिलाई ख्याल गर्दै आफूले प्रयोग गर्दै आएको महानगरको को१ झ४९४ नम्बरको टोयटा फर्चुयनर गाडीलाई समेत जनसेवामा समर्पित गर्ने निर्णय गरेको उनले बताए।
मोरङको विकट मिक्लाजुङ गाउँपालिकामा प्रमुख देवीप्रसाद आचार्य र उपप्रमुख सरला राईले पनि प्रयोग गर्ने सवारी शनिबारदेखि कोभिड एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने निर्णय गरेका छन्। गाउँपालिकामा रहेका बा२झ १०६१ र को१झ ५७६ नम्बरका गाडी कोभिड एम्बुलेन्सको रुपमा प्रयोग हुने भएका छन्।
माहमारीमा नागरिकलाई सुरक्षित राख्न सक्नु मुख्य चुनौती भएकाले कोभिडविरुद्धको लडाईमा नागरिकको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर यस्तो निर्णय लिएको गाउँपालिका प्रमुख आचार्यले बताए।
उनका अनुसार आफूले प्रयोग गर्ने सवारी संक्रमित र स्वास्थ्य सामाग्रीहरु ओसारपसार लगायतका कार्यमा प्रयोग गरिनेछ।
नेपाली कांग्रेस विराटनगर महानगर समितिका कार्यवहाक सभापति अरुण न्यौपानेले पनि आफूले चढ्ने गरेको बा१५च ६३२२ नम्बरको महेन्द्रा एक्सयुभी ५०० गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न विराटनगर महानगरलाई उपलब्ध गराउने निर्णय गरेको बताएका छन्। राजनीतिक कार्यकर्ता र जनसेवक भएको हिसाबले आफ्नो सवारी संक्रमित ओसार्ने प्रयोजनका लागि महानगरलाई जिम्मा दिएको न्यौपानेले बताए।
जनप्रतिनिधिका सवारी एम्वुलेन्स बनाउने घोषणा गर्नु नाटक भएको सुनसरी ईटहरीकी उपप्रमुख लक्ष्मी गौतमले बताइन्। उनले भनिन्,‘ मैले बाटोमा अलपत्र परेकी सुत्केरी हुन छटपटिएकी महिलालाई अस्पताल पु¥याँए तर, मैले म चड्ने गाडीलाई एम्बुलेन्स घोषणा गरिनँ।’ आफ्नो एम्बुलेन्स नबनाउने बरु भ्याएसम्म अलपत्र परेकालाई उद्धार गर्ने उनले बताइन्। उपप्रमुख गौतमले भनिन्, ‘यो एम्बुलेन्स घोषणा नाटकै हो।’
जनप्रतिधिले आफ्नो सवारी एम्बुलेन्स बनाउने दिने निर्णय गर्नु सस्तो लोकप्रियता भएको विराटनगरका अधिकारकर्मी बासु अधिकारीले बताए। उनले भने, ‘जनप्रतिनिधि संवेदनशील हुने भन्दा पनि सस्तो लोकप्रियतामा लागे।’