काठमाडौं- नेपाल शिक्षक संघले कोरोनाविरुद्धको खोप नलगाएसम्म विद्यालय नजान शिक्षकहरुलाई आग्रह गरेको छ। यस्तै संघले कोरोना महामारीको विषम परिस्थितिमा समेत विद्यालयमा उपस्थित हुनैपर्ने अमानवीय उर्दी लगाउने स्थानीय सरकारहरुको ज्यादती तत्काल बन्द गर्न माग गरेको छ।
संघले संक्रमितका लागि निःशुल्क र सुलभ स्वास्थ्य उपचारको प्रबन्ध गर्न पनि सरकारसँग माग गरेको छ। संघले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'सम्पूर्ण शिक्षाकर्मीका लागि तत्काल कोरोना विरुद्धको खोप उपलब्ध गराउनुपर्ने अन्यथा नो स्कुल रिज्युम विथआउट भ्याक्सिन भन्ने नारालाई उद्घोष गर्दै राज्यले खोप उपलब्ध नगराउँदासम्म विद्यालय नजानका लागि शिक्षकहरुलाई आग्रह गर्दछौं।'
संघले स्वास्थ्य सुरक्षा बिमाको व्यवस्था गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति र परिवारको कुनै एक सदस्यलाई रोजगारी दिन र पेन्सन (निवृत्तिभरण) अवधि नपुगेको भए अवधि थप गरी परिवारलाई निवृत्तिभरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
यसैगरी संघले कोरोना संक्रमणबाट निधन भएका नेपाल शिक्षक सङ्घका सदस्यका परिवारलाई संघीय कार्यसमितिका तर्फबाट तत्कालका लागि दस हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। शिक्षाकर्मीहरुको पेसागत सुरक्षा, हकहितको संवर्द्धन र शैक्षिक क्षेत्रको समस्याहरुको समाधानार्थ नेपाल शिक्षक महासंघद्वारा घोषणा गरिएको ध्यानाकर्षण तथा पक्षीकरणका कार्यक्रमलाई सक्रियतासाथ दबाब निर्माण गर्न संघले सबै संरचना र सदस्यलाई अनुरोध गरेको छ।
संघले विषम परिस्थितिका कारण घरमै बस्न बाध्य बालबालिकामा नकारात्मक प्रभाव पर्न नदिनका लागि संघले विगतमा सञ्चालन गरी प्रभावकारी प्रमाणित भएको घरघरमा विद्यालय अभियान समयानुकूल परिमार्जनसहित सञ्चालन गर्नसमेत अनुरोध गरेको छ।
संघ स्थापनाको ३२औं वर्षका अवसरमा संघीय कार्यसमितिको आयोजनामा यही वैशाख ३० गते अनलाइनमार्फत संघीय, प्रदेश र जिल्ला कार्य समितिको नेतृत्वमा रहेका साथीहरुको उपस्थितिमा एक बृहत् भेला आयोजना गरी समसामयिक, सांगठनिक तथा अन्य विविध विषयमा अन्तक्रिया कार्यक्रम गर्ने कार्यक्रम तय गरिएको संघका अध्यक्ष राजेन्द्रराज पौडेल र महासचिव सोमनाथ गिरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
संघले कोरोना महामारीका कारण शिक्षाकर्मीहरु बढी जोखिममा परेको, दैनिक सयौँको संख्यामा शिक्षक तथा विद्यालय कर्मचारी संक्रमित र दर्जनौं शिक्षक-कर्मचारीहरु हताहती भइरहेको अवस्था रहेको जनाएको छ। विज्ञप्तिमा उल्लेख छ, 'यस दुखद घडीमा दिवंगत सम्पूर्ण शिक्षक, कर्मचारी तथा नेपाली नागरिकमा श्रद्धासुमन प्रकट गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछौं।'