काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेध आदेश घोषणा गरेको दिनदेखि परिचालन गरेको विशेष छड्के चेकजाँच तथा अनुगमन टोलीले विभिन्न स्थानबाट दैनिक रुपमा यात्रु ठगी गर्नेलाई पक्राउ गरेको छ।
महामारीको समयमा यात्रुहरु समस्यामा पर्नसक्ने र ठगी हुन सक्ने भन्दै परिचालन भएको ट्राफिक प्रहरीको विशेष टोलीले बढी भाडा लिने व्यक्तिलाई नियन्त्रणमा लिएको हो। ‘टोलीले सम्भावित त्यस्ता स्थानहरुमा निगरानी गर्ने, आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिने व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।
उपत्यकामा निषेध आदेश जारी भएपछि वैदेशिक रोजगारीबाट आएका र अत्यावश्यक परी उपत्यका बाहिरका जिल्लाहरु जानु पर्ने यात्रुहरुसँग तोकिएकोभन्दा तीन गुणा बढी भाडा लिने काउण्टरका कर्मचारीहरुलाई कलंकी र बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएको उनले बताए।
ट्राफिक प्रहरीले सावित्रा काउण्टर कलंकीमा कार्यरत महोत्तरी गौशाला घर भई थानकोट बस्ने बर्ष ५३ को मनु अर्याल र उनकै छोरा ३० का अनु अर्याललाई पक्राउ गरेको छ।
त्यस्तै नारायणी यातायात काउण्टरका टिकट बुकिङ स्टाफ हेटौडाका ३८ वर्षीय नवराज घिमिरे, कुलेश्वर बस्ने ४४ वर्षीय बिपिन सुवेदी र जय नेपाल सुपर डिलक्सका बुकिङ ईन्चार्ज सुन्धारा काठमाडौंका ४९ वर्षीय ज्ञानेन्द्र साहलाई पनि बढी भाडा लिएको कसुरमा पक्राउ गरिएको छ।
उनीहरुले धनुषा, महोत्तरी र वीरगंज जाने यात्रुहरु संकलन गरी प्रति व्यक्ति २ हजार ५०० देखि ३ हजारसम्म भाडा लिने गरेको पाइएको र जुन तोकिएकोभन्दा करिब तीन गुणा बढी हुन आउने महाशाखाले जनाएको छ।
पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीको लागि प्रहरी बृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ।
त्यसैगरी गोंगबु बसपार्कबाट रुकुम जाने यात्रुहरुसँग ६ हजारका दरले भाडा लिने रुकुम पश्चिम यातायात प्रालिका कर्मचारी रुकुम सिस्नेरीका गणेश रावल र भागिराम छिनाललाई पक्राउ गरी थप कारबाहीको लागी प्रहरी प्रभाग नयाँबसपार्कमा बुझाएकोसमेत महाशाखाले जनाएको छ।
पछिल्लो समय काउन्टरका कर्मचारी तथा बुकिङ स्टाफहरु नै बढी भाडा लिएको कसुरमा पक्राउ पर्ने क्रम वढेको पाइएको छ। निषेध आदेश लागू भएपछि अत्यावश्यक काम विशेष र विदेशबाट आएकाहरुसँग आफूखुसी बढी भाडा लिने १६ जनालाई पक्राउ गरि महाशाखाले कारबाही गरेको छ।
महाशाखाले अत्यावश्यक परी यात्रा गर्नुपरेमा टिकट काटेर मात्र यात्रा गर्न र तोकिएको भम्दा बढी भाडा लिएमा प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।