चितवन- चितवन राष्ट्रिय निकुञ्जले गैँडा चोरी शिकार गरेको आरोपमा चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको छ।
पछिल्लोपटक सोही मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी अदालत पेस गरिएको निकुञ्जका सूचना अधिकारी लाेकेन्द्र अधिकारीले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेमा धादिङका ४५ वर्षीय राजकुमार श्रेष्ठ भनिने कविराज श्रेष्ठ छन्। उनलाई यही वैशाख २३ गते चितवनको कविलासबाट पक्राउ गरिएको उनले जानकारी दिए। पक्राउ गरिएका उनलाई जिल्ला अदालत पेस गरिएको र अदालतले दुई लाख ५० हजार रूपैयाँ धरौटीमा छाडेको उनकाे भनाइ छ।
यसअघि विभिन्न समयमा पक्राउ गरिएका २३ जनालाई निकुञ्जले गत माघ २९ गते सार्वजनिक गरेको थियो। सार्वजनिक गरिएकामध्ये २० जनालाई चालु आर्थिक वर्षमा चार गैँडा मारेको अभियोग लागेको छ।
यही वैशाख २३ गते पक्राउ परेका श्रेष्ठलाई पनि सोही अभियोग लागेको हो। अन्य तीनजना अघिल्ला आर्थिक वर्षका मुद्दामा फरार रहेका अभियुक्त रहेको उनले जानकारी दिए।
चालु आर्थिक वर्षमा मारिएका गैँडाका मुद्दामा संलग्न २१ जनामध्ये अदालतले सातजनालाई धरौटी माग गरेको थियो भने अन्यलाई पुर्पक्षका लागि कारागार पठाइएको थियो।
पुराना मुद्दामा फरार रहेका तीनजनालाई पनि फैसला कार्यान्वयनका लागि अदालतबाट कारागार पठाइएको उनले बताए।
निकुञ्जमा चालु आवमा प्राकृतिक कारणले २६ र चोरी शिकारीले चार गैँडा मारेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए। रासस
