डोटी- जिल्ला अस्पताल डोटीमा आईसीयू र भेन्टिलेटर अभावमा कोरोना संक्रमितले ज्यान गुमाउनुपरिरहेको छ। भेन्टिलेटर सुविधा नहुँदा डोटीमा शुक्रबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका–८ घर भई रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलमा इन्जिनियरका रुपमा कार्यरत ३२ वर्षीय पुरुषको मृत्यु भएको हो।
वैशाख २० गते कोरोना भाइरस संक्रमित देखिएका ती पुरुष २२ गते अस्पताल भर्ना भएका थिए। अस्पतालको आइसोलेसनमा राखेर अक्सिजन सपोर्टमा उपचार भइरहेको थियो। थप उपचारका लागि आईसीयू र भेन्टिलेटर आवश्यक परेपछि उनलाई जिल्लाबाहिर रिफर गरिएको थियो।
'अस्पताल भर्ना गरेकै दिन ती पुरुषको अवस्था गम्भीर थियो। हामीले यहाँ आईसीयू र भेन्टिलेटर छैन, अन्यत्रै लैजानुस् भनेर आफन्तलाई सुझाव दिएका थियौं', जिल्ला अस्पताल डोटीका कोरोना फोकल पर्सन डा. राजेन्द्र फुलाराले भने।
जिल्ला अस्पताल डोटीमा हाल पाँच जना सक्रिय संक्रमित उपचाररत छन्। फुलाराले भने, 'पाँचै जनालाई अक्सिसन दिइरहेका छौं। उहाँहरुको अवस्था गम्भीर बन्दै छ। आईसीयू र भेन्टिलेटर नहुँदा अन्योलमा छौं।' यसअघि बुधबार डोटी, आदर्श गाउँपालिका २ का ६२ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो।
जिल्ला अस्पतालमा संक्रमितलाई उपचार गर्न आईसीयू र भेन्टिलेटर सुविधा छैन नै। साथै संक्रमितलाई राख्ने उपयुक्त बेड पनि छैन।
भएका बेड सबै थोत्रा छन्। स्वास्थ्यकर्मीको पनि अभाव छ। एक संक्रमितका आफन्तले भने, 'अक्सिजनको त कुरै नगरौं, भएका स्वास्थ्यकर्मी पनि सरुवा हुने क्रम जारी छ।'
जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर सञ्चालन गर्न दक्ष जनशक्ति पनि छैनन्। डा. फुलाराले भने, 'आईसीयू र भेन्टिलेर सञ्चालन गर्न हामी संवेदनशील छौं। तर चौबीसै घण्टा अक्सिजनको ब्यवस्थापन, दक्ष जनशक्ति त चाहियो नि।'
प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जिल्ला कोभिड संकट व्यवस्थापन समितिले निर्णय गरी अस्पताललाई आईसीयू र भेन्टिलेटर जस्ता अत्यावश्यक सामग्री व्यवस्थापन गर्न निर्देशन दिइसकेको बताए ।
अस्पतालमा अक्सिजन प्लान्टको वाइटिङ अभावका कारण आईसीयू र भेन्टिलेटर सञ्चालन गर्न नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए।
अस्पतालमा २ बेडको भेन्टिलेटर र २ बेडको आईसीयू सञ्चालनका लागि आवश्यक सामग्री ल्याइसकिए पनि अक्सिजन प्लान्ट जडान हुन नसक्दा ती सामग्री त्यत्तिकै रहेको उनको भनाइ छ।
उनले भने आईसीयू र भेन्टिलेटर मेसीन प्रदेश सरकारले दिइसकेको छ। अक्सिजन प्लान्ट जडान भएपछि सञ्चालन हुन्छ। यसका लागि अस्पतालका स्वास्थ्यकर्मीलाई तालिम पनि दिइसकेको उनले जानकारी दिए।
अक्सिजन प्लान्ट निर्माणमा किन ढिलाइ भइरहेको त भन्ने जिज्ञासामा जोशीले विभिन्न प्रक्रिया पुर्याएर काम गर्नुपर्ने भएकाले ढिलाइ हुन पुगेको बताए। जेठको तेस्रो सातासम्म आईसीयू र भेन्टिलेटर सञ्चालन हुने गरी काम भइरहेको उनले बताए।
सुदूरपश्चिम प्रदेश सरकारले अक्सिजन प्लान्ट स्थापना गर्नका लागि जिल्ला अस्पताल डोटीलाई ८० लाख रुपैयाँ पठाइसकेको छ। डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी र दार्चुला जिल्ला अस्पताललाई ८०÷८० लाख रुपैयाँका दरले अक्सिजन प्लान्ट निर्माण गर्न रकम पठाइएको सामाजिक विकास मन्त्रालयलले जनाएको छ।
