काठमाडौं - सत्तारुढ दल नेकपा एमालेलाई विभाजन हुनबाट रोक्न सक्रिय दोस्रो तहका नेताहरूले आज शनिबार पनि छलफललाई निरन्तरता दिने भएका छन्। शुक्रबार बालुवाटारमा दुई घन्टा लामो वार्ता गरेका एमालेका दुवै तर्फका नेताहरू आज पनि छलफलमा जुट्ने भएका छन्।
‘हामीले पार्टीलाई विभाजन हुन नदिनका लागि नै वार्ता र छलफल गरिरहेका छौं, हिजो हाम्रा बीचमा सकारात्मक कुरा भयो,’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘आज पनि हाम्रा बीचमा छलफल हुन्छ।’
उनले आज पनि छलफल गर्ने निष्कर्षसहित हिजोको वार्ता सकिएको भन्दै कुन बेला छलफलमा बस्ने भन्ने यकिन नभइसकेको बताए। ‘विवाद मिलाएर अघि बढ्नेमा सबै सहमत छौं,’ उनले भने, ‘तर, कसरी मिलाउने भन्ने टुंगो भने भएको छैन।’
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने दिन नजिकिँदै गर्दा एमालेभित्रको विवाद निर्णायक अवस्थामा छ। नेताहरूले उक्त दिन नै एमाले एकजुट हुने वा विभाजन हुनेसम्मको स्थिति आउन सक्ने भन्दै शीर्ष नेताहरूलाई दबाब दिनका लागि प्रयास गरिरहेका छन्।
नेता नेम्वाङ दुवै पक्षको छलफलबाट केही निष्कर्ष निकालेर त्यसपछि शीर्ष तहमा वार्ता गराउने तयारी रहेको बताउँछन्।
प्रधानमन्त्री निवास बालुवाटामा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीतर्फबाट अर्थमन्त्री विष्णु पौडेल, उपनेता नेम्वाङ र प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल छलफलमा थिए। नेता माधवकुमार नेपालका तर्फबाट घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई वार्तामा थिए।
वार्तामा सहभागी नेता नेपाल निकट नेता योगेश भट्टराईले विभाजन हुन नदिन सबै गम्भीर भए पनि ठोस निष्कर्ष ननिस्केको बताउँछन्। नेता भट्टराईले दुवै पक्षलाई उपयुक्त हुने मिलन विन्दु खोज्ने काम पनि भइरहेको बताए।
नेताहरूले ओली र नेपालबीच पनि वार्ता गराउनका लागि पहल गरिरहेका छन्। तर, त्यो सार्थक हुन सकेको छैन। शुक्रबार दिनभर जसो नेताहरूले प्रयास गरेका थिए। आज पनि दुई नेताहरूबीच वार्ता गराउने विषयमा प्रयास जारी रहने नेताहरूले बताएका छन्।
