चितवन - चितवनमा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित हुन थालेका छन्।
कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरूमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना संक्रमित भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर अस्पतालमा २२, चितवन मेडिकल कलेजमा २२, पुरानो मेडिकल कलेजमा १९, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका १६ जना छन्।
यस्तै बघौडा अस्पताल माडी, राप्ती अस्पताल भण्डारा, बकुलहर अस्पताल रत्ननगर, कालिका नगर अस्पताल लगायतका अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी सातजना संक्रमित भएको उनले जानकारी दिए।
उनका अनुसार संक्रमित चिकित्सक र स्वास्थ्यकर्मी अहिले अइसोलेसनमा छन्। उनीहरूमध्ये कतिपय संक्रमणमुक्त भएर घर फर्किसकेका छन्। कार्यालयका अनुसार जिल्लामा कोरोना रोग नियन्त्रणमा खटिएका प्रहरी प्रमुखसमेतलाई संक्रमण देखिएको छ।
जिल्लामा वैशाखमा मात्रै दुई हजार ८० जनामा संक्रमण देखिएको छ जसमध्ये १७ जनाको मृत्यु भइसकेको कार्यालयको तथ्यांकमा उल्लेख छ। जिल्लामा हाल औसत दैनिक सातजना संक्रमितको मृत्यु भएको छ। ती मध्ये अधिकांश बाहिरी जिल्लाका छन्। रासस
