बुटवल- अस्पतालहरुमा अक्सिजनको चरम अभाव भएपछि रुपन्देहीमा प्रशासनले उद्योगबाट ५ सय ३८ वटा अक्सिजन सिलिण्डर संकलन गरेको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले शुक्रबार उद्योगहरुमा पुुगेर ती अक्सिजन सिलिण्डर संकलन गरेको हो।
यहाँ रहेका १२ वटा स्टिल उद्योगहरु मध्ये ८ वटा स्टिल उद्योगहरुबाट ५ सय ३८ वटा अक्सिजन सिलिण्डर संकलन भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले जानकारी दिए।
संकलन गरिएका सिलिण्डरमध्ये भैरहवास्थित यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेसलाई एक सय, लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई ६८ र भीम अस्पताल भैरहवालाई १५ वटा उपलब्ध गराइएको प्रशासनले जनाएको छ। संकलन गरिएको सिलिण्डरमा केही खाली र केहि भरिएका थिए ।
