विराटनगर- नक्कली रेमडेसिभिरको कारोबारमा संलग्न दुई जना विराटनगरबाट परेका छन्।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१० का २६ वर्षीय सोनु आलम र श्रवण यादव रहेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए। विराटनगर–४ स्थित नोबेल शिक्षण अस्पतालनजिक आलमको साथी फार्मेसी नामक औषधि पसल छ। यादव फार्मेसीका कामदार हुन्।
आलम र यादवले वीरगञ्जमा उत्पादन हुने ‘स्टासेफ’ नामक एन्टिबायोटिक इन्जेक्सनको बट्टा र बोतलमा नयाँ लेबल लगाउँदै नक्कली रेमडेसिभिर तयार पारेर कोरोना संक्रमितका लागि बिक्री गर्ने गरेको पाइएको छ। पक्राउ परेकाहरुले ९० रुपैयाँ पर्ने एन्टिबायोटिक इन्जेक्सनको बोतलमा रेमडेसिभिरको लेभल लगाएर बिक्री गर्ने गरेको पुष्टि भएको प्रहरीले जनाएको छ।
नक्कली रेमडेसिभिर उनीहरुले एजेन्टलाई ८ हजार रुपैयाँसम्ममा बिक्री गर्ने र एजेन्टले बिरामीलाई १५ देखि २५ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। विराटनगरमा अहिले रेमडेसिभिरको चरम अभाव छ।
अभावका कारण नपाइएपछि बिरामीका लागि कालोबजारीको रेमडेसिभिर महँगोमा किन्न बाध्य हुनुपर्ने अवस्था रहेको औषधि व्यवसवायी संघ मोरङका उपाध्यक्ष एवं प्रवक्ता देशबन्धु ढकालले बताए। नक्कली रेमडेसिभिर प्रकरणमा पक्राउ परेकामध्ये यादव लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) का फरार प्रतिवादी हुन्।
पक्राउ परेकामध्ये आलमलाई भने कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाउन प्रहरीले शुक्रबार म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ। यादवविरुद्ध भने लागूऔषध ऐनअन्तर्गत मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी काम अघि बढाइएको मोरङ प्रहरीले जनाएको छ।
