काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप खरिदमा सरकार भ्रष्टाचारमा संलग्नु हुनुले अनैतिक चरित्र उदाङ्गो भएको आरोप लगाएका छन्।
जनताको जीवन रक्षा गर्नु पर्ने सरकार स्वयं जीवनदायी औषधी (खोप) भ्रष्टाचारमा संलग्नु हुनुले सरकारको अनैतिक चरित्र उदाङ्गो भएको देउवाको आरोप छ।
शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै देउवाले सरकारको अनैतिक र भ्रष्टाचारजन्य कार्यको घोर निन्दा र भत्र्सना समेत गरेका छन्। ‘यस्तो भ्रष्टाचारको काममा जोसुकै संलग्न भए पनि कडा कारवाही गर्न सम्बन्धित निकायसँग माग गर्दछु।’ देउवाले भनेका छन्, ‘नेपाली जनताको जीवन रक्षा गर्नका लागि देशभरि आवश्यक अक्सिजन, आईसीयू बेड, खोप गायतका औषधीको तत्काल व्यवस्था गर्न माग गर्दछु।’
देउवाले जनताको जीवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीयता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनताविरुद्धको अक्षम्य अपराध भएको बताएका छन्।
उनले अहिले कमिसनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भईसकेको भन्दै सरकार सर्वत्र भ्रष्टाचारमा चुर्लुम्म डुबेको विषय नेपाली जनताका लागि नौलौ नभएकोसमेत विज्ञप्तिमा उल्लेख गरेका छन्।
देउवाले भनेका छन्, ‘हाम्रो पार्टीले कोभिड–१९ को प्रकोप प्रारम्भ हुँदा नै सरकारलाई सहयोग गर्ने प्रतिवद्धताका साथ समयमा नै नियन्त्रण र रोकथामका उपाय अपनाउन पटक–पटक ध्यानार्कषण गराउँदा पनि सरकार सचेत एवं गम्भीर भएन।’
विज्ञहरुले कोभिडको पटक–पटक लहर आउन सक्ने, जुनसुकै बेला जोखिम बढ्न सक्ने भनी दिएको चेतावनीलाई सरकारले नसुनेको आरोप लगाएका छन्। ‘सरकारले नियन्त्रण र रोकथामका लागि पर्याप्त समय हुँदाहुँदै पनि जनताप्रतिको आफ्नो न्यूनतम जिम्मेवारी बोध गरेन।’ देउवाले विज्ञप्तिमा भनेका छन्, ‘समयमा कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरेन। फलस्वरुप अहिले नेपाल विश्वमा नै कोभिड–१९ को उच्च जोखिममा रहेका देशहरुमा गणना भएको छ। यस्तो अवस्था सिर्जना हुनमा यो सरकार पूर्ण रुपमा जिम्मेवार छ।’
उनले देशमा व्याप्त यस विषम घडीमा सबै दाजुभाई, दिदीबहिनीमा स्वास्थका मापदण्ड अपनाउन, आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अनुरोध गरेका छन्। साथै देशभरिका नेपाली कांग्रेसका सदस्य तथा शुभेच्छुक साथीहरुलाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउदै संकटमा परेकालाई सक्दो सहयोग गर्न अपिल पनि गरेका छन्।
