सुर्खेत- कर्णाली प्रदेश सरकारले कोरोना रोग नियन्त्रण तथा व्यवस्थापन निर्देशक समिति गठन गरेको छ। कोरोना रोग नियन्त्रण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले समिति गठन गरिएको हो।
मुख्यमन्त्री महेन्द्रबहादुर शाही संयोजक रहेको समितिमा सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्री सदस्य सचिव छन्।
समितिमा आर्थिक मामिला तथा कानुन मन्त्री, सामाजिक विकास मन्त्री, दशवटै जिल्ला सदरमुकामका पालिकाका प्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, प्रहरी नायव महानिरीक्षक र दशवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि सदस्य छन्।
त्यस्तै कोरोना नियन्त्रण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रदेश अस्पताल सुर्खेतमा कोरोना नियन्त्रण तथा व्यवस्थापन निर्देशक समिति गठन गरिएको छ।
सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्री संयोजक रहेको समितिमा प्रदेश अस्पताल निर्देशक डा. डम्बर खड्का सदस्य सचिव छन्। समितिमा प्रमुख जिल्ला अधिकारी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, वीरेन्द्रनगर नगरपालिका प्रमुख। सदस्य छन्।
दुवै समितिले प्रदेशभर कोरोना नियन्त्रण, संक्रमितको प्रभावकारी उपचार, समन्वयलगायतका काम गर्ने सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले बताइन्।
२२ गतेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री केसीले कोरोना रोग नियन्त्रण/व्यवस्थापनका लागि १० करोड बजेट थप गर्ने निर्णय गरेको जनाइन्।
