काठमाडौं- गृहमन्त्रालयले घर राखिएका अक्सिजन सिलिण्डरहरु उपलब्ध गराउन आम सर्वसाधारणमा अपिल गरेको छ।
कोरोना महामारी बढ्दै जाँदा अस्पतालहरुमा अक्सिजन सिलिण्डरको कमी हुँदा बिरामीहरुले समयमै उपचार पाउने अवस्था नभएको भन्दै मन्त्रालयले आम सर्वसाधारणलाई घरमा वा आफ्ना व्यापार, व्यवसाय तथा उद्योगमा राखिएका अक्सिजनका सिलिण्डरहरु उपलब्ध गराउन अपिल गरेको हो।
साथै मन्त्रालयले प्रहरीले विभिन्न ठाउँमा घरमा राखिरहेका १ हजार ८१६ वटा अक्सिजन सिलिण्डर संकलन गरेको र ती सिलिण्डरहरुलाई प्राथमिकताका आधारमा विभिन्न अस्पतालमा पठाइएको पनि जानकारी दिएको छ।
दोस्रो लहरको कोरोना संक्रमण तीव्र रुपमा फैलिएसँगै कोरोना संक्रमितका लागि अक्सिजन अनिवार्य जस्तै देखिँदै आएको छ।
यसै सन्दर्भमा गृहले एक विज्ञप्ति जारी गर्दै सिलिण्डरहरु उपलब्ध गराएर महामारीविरुद्ध लड्न सरकारसँग हातेमालो गर्नका लागि अपिल गरेको हो।
