जनकपुरधाम- कोरोनाको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको सर्लाहीमा पनि भोलि (शनिबार) देखि निषेध आदेश लागू हुने भएको छ।
जिल्लाको विभिन्न स्थानमा कोरोना संक्रमितहरु भेटिन थालेपछि शनिबार राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मको लागि जिल्लाभर निषेध आदेश लागू गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए।
शुक्रबार जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र सर्लाहीको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को उपदफा (३) र संक्रामक रोग ऐन, २०२० को दफा (२) बमोजिम जिल्लाभर निषेध आदेश जारी गर्ने निर्णय भएको तामाङले बताए।
निषेधाज्ञा अवधिमा सार्वजनिक यातायात तथा निजी सवारी साधनमा रोक लगाइएको छ।
यस अवधिमा एम्बुलेन्स, शववाहन, खाद्यसामग्रीको ढुवानी गर्ने सवारी साधन, सरकारी नम्बर प्लेटको सवारी साधन, झण्डाबाहक सवारी, कुटनीतिक नियोगको सवारी, प्रेस पास प्राप्त सवारी साधन चल्न पाउनेछन्।
बैठकले निषेधाज्ञाको अवधिमा रेष्टुरेन्ट, ब्यूटीपार्लर, कपडा पसल, शैलुन, जिमखाना, सुनचाँदी, टेलरिङ, फुटपाथ पसल, शैक्षिक संस्था, ट्युसन सेन्टर र अन्य सबै पसल खोल्नमा रोक लगाएको छ। त्यस्तै अत्यावश्यक सार्वजनिक सेवा, बैंक तथा वित्तीय संस्था, स्वास्थ्य संस्था, क्लिनिक, अस्पताल र औषधिजन्य पसल, पेट्रोल पम्प खोल्न दिने निर्णय गरेको छ।
खाद्यान्न, फलफूल तरकारी, दुध डेरी, ग्यास पसललाई बिहान ७ बजेदेखि १० बजेसम्म मात्र खुल्न दिने निर्णय भएको प्रजिअ तामाङले बताए।
निषेध आदेशमा विवाह ब्रतबन्ध, न्वारन, मृत्यु संस्कारलगायतका कार्यक्रममा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा मापदण्ड र भौतिक दूरी कायम गरी बढीमा १५ जनालाई उपस्थित हुन दिने निर्णय भएको छ। मठमन्दिर, मस्जिद, गुम्बा, चर्चहरुमा नित्य पूजाबाहेक अन्य सामुहिक पूजा तथा बली, मेला महोत्सवमा रोक लगाइएको छ।
