सोमबार, जेठ ४, २०८३

सिटी भ्यालू के हो? यो घट्दा वा बढ्दा के हुन्छ?

सिटी भ्यालू संक्रमितको नाक वा घाँटीमा भएको भाइरसको लोड हो।
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

दोस्रो लहरको उछालसँगै नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ। पीसीआर पोजिटिभ आएका हरेक व्यक्तिलाई सिटी भ्यालूमा धेरै चासो देखिएको छ। सिटी भ्यालूबारे फरक-फरक धारणाको कारण धेरै व्यक्तिमा कन्फ्युजन देखिएको छ।

National life

- सिटी भ्यालू संक्रमितको नाक वा घाँटीमा भएको भाइरसको लोड हो। यो फोक्सोमा भएको भाइरसको लोड होइन। तसर्थ सिटी भ्यालू बढी अंकमा हुँदा सुरक्षित भइने र सिटी भ्यालू थोरै अंकमा हुँदा खतरा हुने हुँदैन।

- सिटी भ्यालूलाई धेरै कुराले असर गर्छ। नाकबाट लिइएको स्याम्पल र घांटीबाट लिइएको स्याम्पलमा पनि सिटि भ्यालू फरक हुन्छ। त्यस्तै स्वाब कसरी लिइयो? कति मात्रामा लिइयो? त्यसलाई कसरी सुरक्षण, परिवहन र परीक्षण गरियो? परीक्षण गर्दा कस्तो किट वा रिएजेन्टको प्रयोग गरियो? कस्तो जनशक्तिले परीक्षण गर्यो? आदि अनुसार पनि सिटी भ्यालू फरक हुनसक्छ। प्रयोगशाला अनुसार पनि सिटी भ्यालू फरक-फरक हुन्छ। तसर्थ सिटी भ्यालू हेरेर आत्तिनु वा ढुक्क हुनु जरुरी छैन।

- सिटी भ्यालू एउटा चक्र पनि हो। शरीरमा भाइरस प्रवेश गरेको ३-४ दिनसम्म भाइरसको मात्रा कम हुन्छ। तसर्थ सिटि भ्यालू २४ भन्दा माथि देखिन्छ। उक्त व्यक्तिमा ७ दिनपछि भाइरसको संख्या धेरै हुन्छ। त्यो बेला सिटी भ्यालू २४ भन्दा धेरै तलसम्म देखिन्छ। त्यहि व्यक्तिमा निको हुनेबेला भाइरस नष्ट भएर भाइरसको संख्या कम हुन्छ अनि सिटी भ्यालू २५ भन्दा माथि देखिन्छ। यो चक्र अधिकांश व्यक्तिमा देखिन्छ।

- बालबालिका तथा युवामा इम्युनिटी पावर धेरै हुन्छ। त्यस्तै खोप लिएका व्यक्तिमा भाइरसविरुद्धको एन्टिबोडी हुन्छ। एकपटक संक्रमण भएका व्यक्तिमा पनि एन्टिबोडी बिकास भएको हुन्छ। त्यस्ता व्यक्तिमा भाइरस घाँटीमै नष्ट हुन्छ। तसर्थ सिटी भ्यालू १२, १४ जस्तै छैठौं अंकमा नदेखिन सक्छ।

- प्रबिधि तथा देश अनुसार सिटी भ्यालू कतै ३२ तथा कतै ४० सम्मलाई पोजिटिभ मानिएको छ। हाम्रो देशमा ३६ भन्दा माथिल्लो अंकलाई नेगेटिभ मानिन्छ।

- सिटी भ्यालूमा अलमल हुनु पर्दैन। रिपोर्ट पोजिटिभ भए पोजिटिभ तथा रिपोर्ट नेगेटिभ भए नेगेटिभ बुझेर बुझे पुग्छ।

सिटी भ्यालू बुझ्ने सरल उदाहरण

हामीले एउटा खेतमा इनार खन्दैछौं। १०-१२ वटा रिङ हाल्दैमा पानी आयो भने त्यो जमिनमा पानी प्रशस्त छ भन्ने बुझिन्छ।

तर, ३०-३२ वटा रिङ हालेपछि मात्र पानी आयो भने त्यो जमिनमा पानी कम छ भन्ने बुझिन्छ। पीसीआर टेस्टमा पनि भाइरस लोड धेरै छ भने १०-२० साइकलमै भाइरस भेटिन्छ। भाइरसको लोड कम छ भने ३०-३२ साइकलमा मात्र भेटिन्छ। सिटी भ्यालूलाई यसरी बुझ्दा झनै सजिलो हुन्छ।

प्रकाशित: May 07, 2021| 01:48 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्