पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना भाइरसको संक्रमण भएको छ। बुधबार गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण देखिएको प्रदेश प्रयोगशाला प्रमुख सपना सुवेदीले नेपाल समयलाई जानकारी दिइन्। ‘हिजो राति ८ बजे स्वाब आएको थियो। बिहान ल्याबमा लगिएको थियो, अहिले पोजेटिभ रिपोर्ट आएको छ,’ उनले भनिन्।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेलाई यसअघि नै कोरोना संक्रमण देखिएर उनी होम आइसोलेसनमा छन्। आफ्नो सल्लाहकारलाई संक्रमण भएर आइसोलेसनमा बसेको थाहा पाएर पनि मुख्यमन्त्रीले परीक्षण गराएनन्। बरु उनी काठमाडौं गए। लगत्तै गण्डकी प्रदेशका निवर्तमान प्रमुख अमिक शेरचन पदमुक्त भए र सीता पौडेल नयाँ प्रदेश प्रमुख भइन्।
काठमाडौंबाट आएर मुख्यमन्त्री गुरुङ सोमबार संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा, मंगलबार सर्वदलीय बैठकमा र दिनदिनैजसो प्रदेश स्तरीय संकट नियन्त्रण तथा व्यवस्थापन समितिका बैठकहरुमा भाग लिए।
मंगलबारको सर्वदलीय बैठकमा गुरुङले सभामुख र विपक्षी दलका नेताहरुलाई एकछिन र धम्क्याए पनि। अन्तिममा आज सबै दलको संसदीय दलको बैठक बस्ने र बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सहमति गरेर उनी निस्किएका थिए।
बैठकबाट निस्किएका गुरुङलाई निवास पुग्नेबित्तिकै शरीरमा असहज महसुस भयो र टाउको दुख्न थाल्यो। तत्काल आरडीटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि राति उनको स्वाब संकलन गरेर परीक्षण गर्दा आज पोजेटिभ रिपोर्ट आएको हो।
अहिले उनी सरकारी निवासमै आइसोलेसनमा छन्। सामान्य अवस्थामा अब उनी कम्तिमा १४ दिन आइसोलेसनमा नै बस्नुपर्ने हुन्छ।
गुरुङको आइसोलेसन बसाइका कारण वशाख एक गतेदेखि सुरु भएको गण्डकी प्रदेशको राजनीतिक संकट झनै गहिरिने देखिएको छ। भोलिका लागि तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि अनिश्चित भएको छ। कार्यव्यवस्थाको बैठकले संसद् बैठकको मिति टुंगो लगाएर मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव छिनोफानो गर्ने सम्भावना पनि अब क्षीण भएको छ।
प्रतिपक्षी दलका नेताहरु भने मुख्यमन्त्री संसदमा अनुपस्थित नभए पनि उनीविरुद्धको अविश्वास प्रस्तावको कारवाही अगाडि बढाउन कुनै बाधा नहुने बताउँछन्। नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्री आइसोलेसनमा बस्दैमा सदनको कारवाही रोकिनुपर्ने कारण नरहेको बताउँछन्। ‘सर्वप्रथम त उहाँको स्वास्थ्यलाभको कामना गरौं, तर उहाँ अनुपस्थित हुँदैमा सदन रोकिनु हुँदैन,’ उनले नेपाल समयसँग भने।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले पनि मुख्यमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै आफू आउन नसके अरुलाई प्रतिनिधि बनाएर पठाउन मिल्ने बताए। उनले यही बहानामा फेरि संसदको विषेश अधिवेशन अन्त्य हुनसक्ने आशंका पनि व्यक्त गरे। संसद् अन्त्य भए पनि आफूहरुको मुद्दा भने संसद सचिवालयमा सुरक्षित रहने उनको भनाइ छ। ‘अहिले केही लिंगरिङ भए पनि हाम्रो मुद्दा सुरक्षित हुन्छ र यो छिटै पार लाग्छ,’ उनले भने।