काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नजिकिएसँगै राजनीतिक सरगर्मी बढेको छ। ओलीले वैशाख २७ गते संघीय संसद्मा विश्वासको मत लिने कार्यतालिका छ। प्रधानमन्त्री ओली विश्वासको मत लिन आवश्यक संख्या जुटाउन सक्रिय छन्। अर्कोतर्फ विपक्षी दल कुनै पनि हालतमा ओलीलाई विश्वासको पाउन सफल हुन नलिने र वैकल्पिक सरकार बनाउने कसरतमा जुटेका छन्।
संसदको पछिल्लो अंकगणित हेर्दा ओलीले विश्वासको मत पाउन कठिन देखिन्छ। यस्तै विपक्षी गठबन्धनले पनि तत्कालका लागि बहुमत जुटाउन सक्ने संकेत देखिएको छैन। विश्वासको मत नपाएमा प्रधानमन्त्री ओली निर्वाचनतर्फ लाग्ने सम्भावना बढेको छ।
कांग्रेस र नेकपा माओवादी केन्द्रले ओलीलाई विश्वासको मत नदिने मात्रै होइन असफल बनाउने निर्णय नै गरिसकेका छन्। जनता समाजवादी पार्टीभित्रको उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसमेत विपक्षीमा मोर्चामा उभिएका छन्। सँगै एमालेभित्रको माधवुकमार नेपाल समूहसमेत विपक्षी गठबन्धनमा जोडिन आइपुगेको छ।
ओलीले विश्वासको मत पाउने अवस्था छैन। विश्वासको मत नपाएपछि विपक्षी दलले सरकार बनाउन बहुमत सिद्ध गर्नुपर्ने हुन्छ। हस्ताक्षर संकलन गर्दा माधव नेपाल समूहलाई समस्या पर्छ। जसपामा दुई चिरा छ। यसरी हेर्दा मुलुक निर्वाचनतर्फ अघि बढेको देखिन्छ। - कांग्रेस नेता प्रदीप पाैडेल
विपक्षी कांग्रेस, माओवादी, एमालेकाे नेपाल समूह र जसपाका दुई समूहका शीर्ष नेताहरुबीच सोमबार साँझ गोप्य भेटवार्ता भएको छ। महाराजगन्जस्थित प्रमोद राणाको घरमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको कांग्रेसका एक नेताले जानकारी दिए।
माधव–झलनाथप्रति सशंकित देउवा
कांग्रेस सभापति देउवा ओलीले विश्वासको मत लिनुअघि नै अविश्वासको प्रस्ताव ल्याउन आश्वस्त नभएको बुझिएको छ। दाहाल, नेपाल र यादवले २७ गतेअघि नै अविश्वासको प्रस्ताव ल्याउन राखेको प्रस्तावमा देउवाले आनाकानी गरेका थिए।
जसपाको एउटा पक्ष ओलीलाई सहयोग गर्ने तयारीमा जुटेको र एमालेको नेपाल समूहका दोस्रो तहका नेताले समेत ओलीलाई सहयोग गर्न सक्ने आशंका देउवाले व्यक्त गरेका छन्। उनले आफू कच्चा खेलाडी नभएको बताएको कांग्रेसका ती नेताले जानकारी दिए। ‘तपाईँहरु निर्णय गर्नुस्, राजीनामा दिएर आउनुस् अनि कुरा गरौंला,’ देउवाले नेपाललाई दिएको जवाफ उधृत गर्दै ती नेताले भने।
जसपाको एउटा पक्ष ओलीलाई सहयोग गर्ने तयारीमा जुटेको र एमालेको नेपाल समूहका दोस्रो तहका नेताले समेत ओलीलाई सहयोग गर्न सक्ने आशंका देउवाले व्यक्त गरेका छन्।
देउवाले जसपाभित्रको अवस्थाबारे यादवसँग चासो राखेका थिए। यादवले आफूसँग बहुमत सांसद रहेको दाबी गरेका थिए। विपक्षी गठबन्धन बनाउने र ओलीलाई असफल बनाउन आफू दृढ रहेको भन्दै यादवले देउवा, दाहाल र नेपाललाई आवस्त बनाउन खोजेका थिए।
तर, जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो भने ओलीलाई विश्वासको मत दिने पक्षमा छन्। यो समूहले सांसदहरुको हस्ताक्षर संकलन गर्दै आएको छ। केही दिनअघि देउवा निवास पुगेर एमाले नेता भीम रावलले ओलीलाई विश्वासको मत नदिने बताएका थिए।
कांग्रेस नेता प्रदीप पौडेलले देउवा र रावलबीचबीच ओलीलाई असफल बनाउने विषयमा छलफल भएको बताए। ‘उहाँहरु खुलेर आउन सक्ने अवस्था छैन। उहाँहरुले विश्वासको मत नदिने भन्ने न हो,’ पौडेलले भने, ‘रावलजीले सभापतिजीसँग हामी ओलीलाई सहयोग गर्दैनौं भन्नुभएको छ।’
कांग्रेस नेता भन्छन्, अब चुनावको विकल्प छैन
कांग्रेस नेताहरुका अनुसार मुलुक निर्वाचनतर्फ अघि बढिसक्यो। प्रतिनिधिसभा विघटन गरेर ओली निर्वाचनमा जान खोजेका थिए। तर, ओलीको निर्णयलाई सर्वोच्चले उल्टाइदियो। अहिले भने ओली वैधानिक बाटोबाट निर्वाचनमा जान खोजेका छन्। ‘ओलीले विश्वासको मत पाउने अवस्था छैन। विश्वासको मत नपाएपछि विपक्षी दलले सरकार बनाउन बहुमत सिद्ध गर्नुपर्ने हुन्छ। हस्ताक्षर संकलन गर्दा माधव नेपाल समूहलाई समस्या पर्छ। जसपामा दुई चिरा छ,’ पौडेलले भने, ‘यसरी हेर्दा मुलुक निर्वाचनतर्फ अघि बढेको देखिन्छ।’
विपक्षी दलहरु सरकार बनाउने गरी अघि बढ्ने सम्भावना ज्यादै न्यून रहेको पौडेलको विश्लेषण छ। वैधानिक बाटोबाट निर्वाचन भए त्यसलाई स्वीकार गर्नुको विकल्प नरहेको तर निष्पक्ष निर्वाचन हुनेमा भने कांग्रेस सशंकित छ। ‘वैधानिक बाटोबाट भएको निर्वाचनबाट पन्सने कुरा आउँदैन। तर ओलीले चरम धाँधली गर्नेछन्। उनको शासन गर्ने शैली हेर्दा नै त्यो प्रस्ट देखिन्छ,’ पौडेल भन्छन्, ‘अब चुनाव नगइनहुने र कसरी जाने? भन्ने ठूलो प्रश्न चिह्न खडा भएको छ।’
यस्तो छ संसदीय अंकगणित
प्रतिनिधिसभामा अहिले २७१ सांसद छन्। प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन १३६ सांसद आवश्यक पर्छ। विपक्षी गठबन्धनलाई सरकार बनाउन चाहिने आवश्यक संख्या पनि यही नै हो। ओलीलाई पार्टीकै सांसदले सहयोग गर्ने स्थिति छैन। एमालेको माधव–झलनाथ पक्षले ओलीलाई सहयोग गर्ने सम्भावना ज्यादै न्यून छ।
एमालेका १२१ सांसद छन्। त्यसमा माधव–झलनाथ पक्षका ३८ छन्। यीमध्ये कतिपय ओलीतर्फ लागिसकेका छन्। २७ जना मात्र ओलीको विपक्षमा छन्। एमाले एकजुट भयो भने पनि विश्वासको मत प्राप्त ओलीलाई थप १५ सांसदको साथ आवश्यक पर्छ।
एमालेका १२१ सांसद छन्। त्यसमा माधव–झलनाथ पक्षका ३८ छन्। यीमध्ये कतिपय ओलीतर्फ लागिसकेका छन्। २७ जना मात्र ओलीको विपक्षमा छन्। एमाले एकजुट भयो भने पनि विश्वासको मत प्राप्त ओलीलाई थप १५ सांसदको साथ आवश्यक पर्छ। तर, तत्काल एमाले एक ढिक्का हुने अवस्था देखिँदैन। माधव पक्षका २७ भन्दाबाहेक सांसद गणना गर्ने हो भने पनि ओलीको पक्षमा ९४ जना मात्रै हुन्छन्। बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ।
यो अवस्था भनेको ओलीले विश्वासको मत पाउने सम्भावना शून्यप्रायः हो। ओलीलाई विश्वासको मत दिने कि नदिने भन्ने बारेमा जसपा दुई धारमा विभाजित छ। विपक्षीलाई पनि बहुमत पुर्याउन कठिनजस्तै छ।
नेपाली कांग्रेससँग ६१, माओवादी केन्द्रसँग ४८ सांसद छन्। त्यो मिलाउँदा १०९ सांसद हुन्छन्। बहुमतका लागि थप २७ सांसद आवश्यक पर्छ। जसपाको सिंगो निर्णय भएमात्रै विपक्षीले बहुमत कायम गर्न सक्ने देखिन्छ।
३२ जना सांसद रहेको जसपाभित्रको उपेन्द्र–बाबुरामले १८ सांसद आफ्नो पक्षमा रहेको दाबी गर्दै आएको छ। यो समूहले विपक्षी गठबन्धनमा सहयोग गर्ने बताइरहेको छ। महन्थ–राजेन्द्रसँग १४ सांसद रहेको बताइन्छ। यो समूहले भने ओलीलाई विश्वासको मत दिने हस्ताक्षर संकलन गरिरहेको छ। संसदमा राप्रपा, जनमोर्चा र नेमकिपाका एक–एक सिट छन्। तर यो तीन सिट निर्णायक छैन। सरकार निर्माणमा निर्णायक देखिँदैनन्।