अचेल मलाई
मान्छेसँग डर लाग्छ
अर्थात्
मुकुण्डो लगाएका
मान्छेसँग।
परिचित पनि
परिचितजस्ता छैनन्
आफन्त पनि
बैरीजस्ता देखिन्छन्।
सबका सब छद्म भेषमा
हिँड्न थालेपछि
साँच्चै
अचेल मलाई
मान्छेसँग डर लाग्छ।
बरु बाघ भेटिए
यसो भलाकुसारी हुन्थ्यो
क्षेम कुशल सोधिन्थ्यो।
हात्ती भेटिए नि
सँगै लम्किनुहुन्थ्यो।
गन्तव्यमा
सर्प, बिच्छी, बारुलो
जे भेटिए पनि हुन्छ
तर, मान्छे नभेटिए हुन्थ्यो
किनकि
अचेल मलाई
मान्छेसँग डर लाग्छ।
होइन कहिलेसम्म
हेर्न पर्ने हो
नाकमुख नभएका
मान्छे,
अनुहार नभएका मान्छे?
एउटा सग्लो मान्छे
भेट्न पनि कति दिन, महिना
वर्ष कुर्नुपर्ने हो?
अनुहार नभएका मान्छेहरू
मात्र देखेर होला
सत्ते, मरिजाऊँ
अचेल मलाई
मान्छेसँग डर लाग्छ।
अनुहार नभएका मान्छेहरू
काल हुन् कि यमराज हुन्
कीटाणु हुन् कि भाइरस हुन्
शत्रु हुन् कि मित्र हुन्
कसरी छुट्टयाउनु र
यिनै नांगाे आँखाको
प्रयोगशालाबा?
अहँ म छुट्याउन सक्दिनँ
त्यसैले बिन्ती छ
आँखासामु नआइदिनोस्
अचेल मलाई
मान्छेसँग डर लाग्छ।
मुकुण्डोधारी मान्छेहरू
कालजस्तै देखिन्छन्
कीटाणुजस्तै देखिन्छन्
जिउँदा भाइरस जस्तै देखिन्छन्।
मान्छेसँगको विश्वास टुटेपछि
धरोधर्म,
अचेल मलाई
मान्छेसँग डर लाग्छ।
त्यसैले त,
म गुमनाम छु अचेल
गुप्तवासमा छु।
यस्तो लाग्छ-
बरु एउटा भूत भेटियोस्
एउटा राक्षस भेटियोस्
ठिकै छ
तर नभेटियोस्
एउटा मात्र पनि
अनुहार हराएको मान्छे
किनकि
रामोराम
अचेल मलाई
मान्छेसँग डर लाग्छ
छद्मरूपी
अनुहारविहीन मान्छेसँग।
