काठमाडौं- एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) ले आगामी कृषि बजेटका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसमक्ष सुझाव पेस गरेको छ। आगामी वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र कृषि बजेट निर्माणका लागि सुझाव पेस गरिएको हो।
सुझाव पत्र बुझ्दै मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्कीले नेपालमा कृषि क्षेत्रको विकासको लागि सञ्चारकर्मीको भूमिका उल्लेख्य रहेको बताए। अनाजका संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक सुरेश कुमार यादवले सोमबार सचिव कार्कीमार्फत् मन्त्रालयलाई सुझाव पत्र बुझाएका हुन्।
‘मन्त्रालय र कृषिका निकायहरुमा सञ्चारकर्मीको सहज पहुँच विस्तार भएको छ, कृषि पत्रकारले खेलेको भूमिका निकै जिम्मेवारपूर्ण रहेको मन्त्रालयको बुझाइ छ’, कार्कीले भने, ‘कृषि सञ्चार प्रवर्द्धनका लागि मन्त्रालयले यो वर्ष विशेष व्यवस्था गर्ने योजनामा छौँ।’
सुझाव पत्रमा कृषि पत्रकारको क्षमता अभिवृद्धि र कृषिलाई प्रमुख विधाका रुपमा लिएर कार्य गरिहेका मिडिया तथा कृषिलाई प्राथमिकता दिने अन्य मिडियालाई सहयोग पुग्ने कार्यक्रम ल्याउनुपर्ने लगायतका विषय समेटिएको छ।
‘कृषि पत्रकारिता आफैमा प्राविधिक र जटिल खालको पत्रकारिता हो, गहिरिएर कृषि पत्रकारिता गर्नेले वास्तवमै कृषि क्षेत्रको विकासमा ठूलो भूमिका खेलिरहेका हुन्छन्’, अनाजका अध्यक्ष किरण आचार्यले भने, ‘नेपालको सन्दर्भमा कृषि सञ्चारमा खट्ने पत्रकारको क्षमता अभिवृद्धि र कृषिका केन्द्र बनाएर सामग्री पस्कने मिडियाको विकासको लागि सरोकारवाला निकायले पनि जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ।’ सरकार र किसान, उद्योगी तथा सरोकारवालाबीचको सेतुको काम गर्ने कृषि सञ्चारकको प्रवद्र्धन गर्न मन्त्रालय र मातहतका निकायको भूमिका हुनुपर्ने उनको भनाइ छ।
सुझाव पत्रमा सञ्चार क्षेत्रका अलावा कृषक, उद्यमी र उपभोक्तासमेतको हित गर्ने विषय समेटिएको छ। कृषि क्षेत्रका सञ्चारकर्मी तथा सरोकारवालाबीच विभिन्न चरणमा गरिएको औपचारिक, अनौपचारिक छलफल तथा सुझाव संकलनपश्चात् संस्थागत रुपमा सुझाव पेश गरिएको अनाजले जनाएको छ।
सरकारका नियमित कार्यक्रमका अलावा कोरोना महामारीको दोस्रो प्रभावसमेत बढिरहँदा नीति तथा कार्यक्रम र बजेटमा छुटाउन नहुने कार्यक्रमलाई समेटिएको अनाजले जनाएको छ। स्थानीय उत्पादन, साना किसान र आत्मनिर्भरतालाई प्राथमिकता, कोरोना राहत कार्यक्रम, कृषकको वर्गीकरण र कृषि आत्मसम्मान कार्यक्रम, अनुदानमा एकद्वार प्रणाली, कृषक राहत कोष, कृषिमा संगठनात्मक सुधार, कृषि प्रसार सुधार र सूचना प्रविधिको उच्चतम उपयोगलगायत उपशीर्षकमा २५ बुँदामा सुझाव पेस गरिएको हो।
एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्टस् (अनाज) लामो समयदेखि कृषि पत्रकारितामा संलग्न संचारकर्मीहरुले नेतृत्व गरेको गैर नाफामूलक संस्था हो। काठमाडौंमा रहेर मूलधारका विभिन्न मिडियामा संलग्न संचारकर्मीको समन्वयकारी निकायको रुपमा काम गर्ने उद्देश्यले स्थापित यस संस्थाले सातै प्रदेशमा कृषि संचार सुदृढ गर्न भूमिका खेल्ने विषयलाई प्राथमिकतामा राखेको छ।
अनाजले विशेष गरी कृषि संचारकर्मीको क्षमता अभिवृद्धि गर्ने, पत्रकारलाई सूचना प्रवाहमा सहयोग गर्ने र पत्रकार तथा मिडिया सञ्चालकलाई कृषिका विषयमा समाचार सम्प्रेषणमा सहयोग पुर्याउने काम गर्छ। किसान, उद्योगी, सरकारी तथा गैरसरकारी निकायहरुसमेतलाई कृषि संचारमा अभ्यस्त बनाउनेलगायतका उद्देश्य लिएर कार्य गर्दै आएको छ।