भारतमा यतिबेला अक्सिजनको हाहाकार मच्चिरहेको छ। अक्सिजनको अभाव हुँदा भारतमा सयौंको संख्यामा कोरोना भाइरस संक्रमितले ज्यान गुमाइरहेका छन्।
यस्तैमा भारतमा एक अचम्मको घटना बाहिरिएको छ। कोरोना भाइरसबाट आक्रान्त उत्तर प्रदेशमा अस्पतालमा नि:शुल्क अक्सिजन बाड्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
यस घटनालाई कतिपयले सहयोगी मनहरूलाई निराश पारेको बताइरहेका छन्।
प्रहरी प्रशासनले भने युवकले अक्सिजन बाँड्ने बहानामा अस्पताल बाहिर भीड गरी स्वास्थ्कर्मीलाई काम गर्न समस्या सिर्जना गरेको आरोप लगाइरहेको छ।
केरोना भाइरस महामारीको समयमा अक्सिजन नपाएर तड्पिरहेका भारतीयका लागि अक्सिजन प्राप्त हुनु सबै भन्दा ठूलो कुरा रहेको समयमा ती युवकको गिरफ्तारीलाई अचम्मको घटनाका रुपमा लिइएको छ।
उत्तर प्रदेश प्रहरीले उनीविरुद्ध मुद्दा चलाएको छ। उत्तर प्रदेशको जैनपुरस्थित सरकारी अस्पताल बाहिर अक्सिजन नपाएर तड्पिरहेका बिरामीलाई निजी खर्चमा विक्की अग्रहरीले अक्सिजन प्रदान गरेका थिए।
प्रहरीले विक्कीविरुद्ध भारतीय दण्ड संहिताको धारा १८८ र २६९ बमोजिम मुद्दा चलाएको छ।
जनैपुरका प्रहरी अधिकारी मनीष बर्माले विक्कीले अस्पताल बाहिर अव्यवस्था सिर्जना गरेर स्वास्थ्यकर्मीलाई दुःख दिइरहेकाले पक्राउ गरेको बताएका छन्।
अहिलेसम्म विक्कीलाई कुनै कारबाही गरिएको छैन्। 'विना कारण कसैलाई दुःख दिने प्रशासनको नियत छैन', मनिष बर्माले भनेका छन्।
विक्कीले अस्पताल बाहिर अक्सिजनको अभावमा तड्पिरहेका बिरामी हेर्न नसकेको भन्दै एम्बुलेन्सबाट अक्सिजन सिलिन्डर निकालेर दिएको बताएका छन्।
सहयोगीलाई पक्रेर मुद्दा चलाउँदा प्रसाशनको छवी धुमलिदैन? भन्ने प्रश्नमा बर्माले अस्पतालमा बेड हुँदाहुँदै विक्कीले अक्सिजन दिँदै गरेको भिडियो बनाएर चर्चा कामउन खोजेको बताएका छन्।
बर्माले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले दिलोज्यान दिएर काम गरिरहेको भए पनि मिडियामा स्थान नपाउने गरेको र कसैले गलत काम गर्ने बित्तिकै सबैतिर फैलिने गरेकाले काम गर्ने अधिकारिहरूको मनोबल खस्किने बताए।
३४ वर्षीय विक्की पेशाले एम्बुलेन्स चालक हुन। उनीसँग एम्बुलेन्समा दई अक्सिजन सिलिन्डर थिए।
'दुई साताअघि श्रीमतिको सुन बेचेर मैले सिलिन्डर किनेको थिए भने दुई सिलिन्डर दानमा प्राप्त भएको थियो', विक्कीले बीबीसीसँग कुरा गर्दै भने, 'मैले अहिलेसम्म एक सयभन्दा बढी बिरामीलाई सहयोग गरिसकेको छु।'
अक्सिजन अभावबीच आफूले २० हजारका दरले अक्सिजन सिलिन्डर किनेको उनले बताए। 'म गम्भीर बिरामी लिएर अस्पताल गएको थिए। त्यहा अक्सिजन नपाएर तड्पिरहेका थुप्रै बिरमीलाई देखे मन थाम्न सकेन। एम्बुलेन्समा भएका सिलिन्डर दिन थाले यत्तिकैमा बिरामी मतर्फ आउन थाले र केहि भीड जम्मा भएको हो', उनले भने।
विक्कीले महामारीलाई सेवाभावले हेरेको बताएका छन्। आफूले जिन्दगीभर कमाएको र अगामी दिनमा पनि कमाउन सक्ने बताउँदै उनले सिलिन्डर बेचेर पैसा कमाउनु नपरेको बताए।
प्रहरीले उनीविरुद्ध मुद्दा चलाएपछि विक्कीका भाइले अब सिलिन्डर नबाड्ने बरु आफूहरू बेच्न तयार रहेको बताए पनि विक्कीले कुनै हालतमा सिलिन्डर नबेच्ने र प्रशासनले जेजस्तो व्यवहार गरे पनि आफूले सहयोग गर्न नछाड्ने बताएका छन्। बिबिसी हिन्दी