काठमाडौं- इलाम नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई कोभिड-१९ को संक्रमणका कारण विद्यालयमा पठनपाठन र परीक्षाका कार्य अवरुद्ध भए पनि अन्य कार्यहरु नियमित रुपमा सञ्चालन गर्न निर्देशन दिएको छ।
नगरपालिकाले विद्यालयमा विद्यार्थी उपस्थित हुन सक्ने वातावरण नभए पनि विद्यार्थीको पठनपाठन र परीक्षाको तयारीलाई निरन्तरता दिन अभिभावकलाई अनुरोध गरेको छ।
विद्यालयका दैनिक प्रशासनिक कार्यहरु, नो कस्ट, लो कस्टका शैक्षिक सामग्रीहरुको निर्माण, शैक्षिक अनुसन्धान प्रतिवेदन तयारी र शैक्षिक कार्ययोजना निर्माणका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरुको पालना गरी प्रधानध्यापकले आलोपालो पद्धतिअनुसार शिक्षक तथा कर्मचारी खटाउन पनि सूचनामार्फत् निर्देशन दिएको हो।
नगरपालिकाले स्वास्थ्यको मापदण्ड पालना गरेर आलोपालो पद्धतिअनुसार कर्मचारी खटाउने र कोभिडका कारण अनुपस्थित हुने शिक्षक तथा कर्मचारीको हकमा प्रधानाध्यापकले कोभिड काज जनाउने जानकारी दिएको छ।