सोमबार, चैत ९, २०८२

एक दिनको मात्र परीक्षा रोकिँदा अन्योलमा विद्यार्थी, त्रिवि भन्छ- एक साताभित्र निर्णय गर्छौं

त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशी भन्छन्, ‘विद्यार्थी जो जहाँ छन् त्यहींबाट परीक्षा दिन पाउने व्यवस्था मिलाएर पनि सहजीकरण गर्छौं। निषेध आदेश लम्बिने भयो भने अन्य विकल्प अपनाउनुपर्छ। विद्यार्थीलाई अन्योलमा राख्नु हुँदैन।’ 
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

काठमाडाैं-  रूपन्देही मणिग्रामका कमल आचार्य काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छन्। अन्तिम परीक्षा चल्दै गर्दा काठमाडौं उपत्यकामा निषेध आदेश जारी भयो। उनी भन्छन्, ‘एउटा विषयको मात्र परीक्षा बाँकी थियो। परीक्षाको तयारी पनि राम्रै चल्दै थियो। बीचमै रोकिँदा अब के गर्ने के नगर्ने?’

National life

अर्थशास्त्र मूल विषय लिएर अध्ययन गरिरहेका उनी स्नातकपछि लोकसेवाको तयारीमा लाग्ने योजनामा छन्। उनी भन्छन्, ‘मेरो लक्ष्यमा कोभिड–१९ बाधक बन्न पुगेको छ। बाँकी परीक्षा कहिले हुन्छ कुनै टुंगो छैन।’ 

त्यसो त कोभिड–१९ को पहिलो लहरले पनि उनीजस्ता धेरै विद्यार्थीको पढाइमा असर गरेको थियो। आचार्यले भने, ‘म पहिलो लकडाउनका बेला मणिकराम गएर बसें। झन्डै आठ महिनापछि काठमाडौं फर्किएँ। गाउँमा गएर बस्दा न कलेजको पढाइ न लोकसेवाको तयारी।’

उनी मंसिरमा काठमाडौं आएर स्नातक दोस्रो वर्षको परीक्षाको तयारीमा जुटेका थिए। परीक्षा सर्दैसर्दै वैशाखमा आइपुग्यो। अब परीक्षा कहिले हुने निश्चित छैन। उनी भन्छन्, ‘निषेध आदेश लम्बिने भयो भने त ट्रकको पछाडि बसेर लुकेर भए पनि घर जानुपर्ला।’

त्रिवि लगायत अन्य विश्वविद्यालयमा परीक्षा स्थगित भएपछि आचार्य मात्र होइन, उनीजस्ता धेरै विद्यार्थी निराश छन्। अघिल्लो साउनमा हुनुपर्ने परीक्षा अहिले वैशाखमा सञ्चालन हुँदै गर्दा स्थगित भएको छ। एक वर्ष त यसै पनि खेर गइसकेको छ। 

Laxmi sunrise bank
kumari

उनीहरुलाई त्रिविले अघिल्लो वर्षकै विद्यार्थी मान्छ। प्यूठानका विद्यार्थी सुशील भण्डारी भन्छन्, ‘हामीले दिने परीक्षा २०७७ कै हो। ०७८ लाग्दा पनि परीक्षा स्थगित भएको छ।' उनी गणित र जनसंख्या विषयमा स्नातक गर्दै छन्। उनलाई पनि गाउँ जान मन छैन। 

उनी भन्छन्, ‘घर गएर बसे पढाइ हुँदैन। यहाँ कोठामै बस्ने हो। मेरो जनसंख्याको एउटा पत्रको परीक्षा बाँकी छ।’ एउटा मात्रै परीक्षा बाँकी हुँदा त स्वास्थ्यको मापदण्ड अपनाएर पनि सञ्चालन गर्न सकिने उनको सुझाव छ। उनी भन्छन्, ‘हाम्रो मर्का कसले बुझ्छ र? फेरि यो बन्द पनि त हाम्रै लागि नै त हो!’

त्रिविले स्वास्थ्य मापदण्ड अपनाएर भए पनि सञ्चालन भइरहेका परीक्षा जारी राख्ने तयारी गरेको थियो। तर चर्को दबाबपछि स्थगित गर्न पुगेको विश्वविद्यालयका अधिकारी बताउँछन्।

त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशी भन्छन्, ‘विद्यार्थी जो जहाँ छन् त्यहींबाट परीक्षा दिन पाउने व्यवस्था मिलाएर पनि सहजीकरण गर्छौं।’ यसबारे एक साताभित्र निर्क्याेलमा पुग्ने उनको भनाइ छ। उनी भन्छन्, ‘निषेध आदेश लम्बिने भयो भने अन्य विकल्प अपनाउनुपर्छ। विद्यार्थीलाई अन्योलमा राख्नु हुँदैन।’ 

त्रिविका अधिकारी स्नातक प्रथम वर्षका परीक्षा पनि कसरी सञ्चालन गर्ने भन्ने चिन्तामा छन्। विद्यार्थी भर्ना भएको १८ महिना भइसक्यो तर परीक्षा दिन पाएका छैनन्। 

नियन्त्रक जोशीका अनुसार निषेध आदेशका कारण मानविकी संकायका ४, शिक्षा संकायका तीन ३ र विज्ञान संकायका २ विषयको परीक्षा रोकिएको छ। उनले यी विषय र प्रथम वर्षको परीक्षा तालिका निषेध आदेश हट्नेबित्तिकै सञ्चालन गर्ने योजना रहेको बताए।

त्रिविका विद्यार्थीको मात्र होइन, परीक्षाको तयारी पूरा गरेर परीक्षा केन्द्रमा पुगेका पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीको पीडा पनि यस्तै छ। मध्यपश्चिम विश्वविद्यालयले गत सोमबारदेखि सञ्चालन हुने गरी तय गरेको विज्ञान तथा प्रविधि संकायअन्तर्गत स्नातक तहको परीक्षा अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरेको छ। 

विश्वविद्यालय स्तरको परीक्षालाई भौतिक रुपमा सञ्चालन गर्न नसकिने अवस्थामा वैकल्पिक विधिबाट परीक्षा लिने र आन्तरिक मूल्यांकनलाई प्रभावकारी बनाउँदै विद्यार्थीलाई भने अन्योलमा राख्न नहुने विज्ञहरुको सुझाव छ।  विद्यार्थीलाई परीक्षा दिन नपाएको दुःखेसो त छ नै, उमेर बढ्दै जाँदा सरकारी जागिरमा दरखास्त हाल्न ढिला हुने चिन्ता पनि छ।  
 

प्रकाशित: Apr 30, 2021| 07:35 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्