काठमाडौं– कोरोना महामारीका कारण काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न प्रमुख शहरहरुमा जारी निशेध आदेशका कारण सुन आयात प्रभावित हुने भएको छ।
निशेध आदेश जारी रहेका स्थानमा सुनको कारोबार पनि हुन नसक्ने र यस्तो अवस्थामा बैंकहरुले सुरक्षाको कारण देखाउँदै सुन आयात गर्न अप्ठ्यारो हुने जनाएकोले पनि सुन आयात हुन कठिनाइ हुने भएको हो।
नेपाल सनुचाँदी व्यवसायी महासंघले निशेध आदेश अवधिभर महासंघको कार्यालय बन्द गर्ने निर्णय गरिसकेको छ।
यद्यपि केही जिल्लामा कारोबार सुचारु रहेकोले महासंघले सुनको दरभाउ भने तोक्दै आएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए। उनले अधिकांश स्थानको ब्यवसाय नै बन्द रहेको र ग्राहक पनि पसलसम्म जानसक्ने अवस्था नरहेकोले अहिले दैनिक २० किलो सुन ल्याउन आवश्यक नदेखिएको बताए।
महासंघका प्रवक्ता मनोज कुमार शाहले कारोबार सुचारु रहेका जिल्लाहरुका लागि स्थानीयस्तरमा नै सुनको विक्री वितरणको व्यवस्था मिलाउन बैंकर्स एसोसिएसनसँग आग्रह गरिएको बताए।
विगतमा पनि बन्दको बेला सुन आयात गरिँदा त्यो सुन वास्तविक व्यवसायी र ग्राहकले उपभोग गर्न नपाएको आशंका गरिएको थियो। गत वर्षको बन्दमा भण्डै ५०० किलो सुन बैंकमा थुप्रिए पनि बन्द खुलेको केही दिनमा नै उक्त सुन सकिएको थियो।
सामान्यतया बैंकहरुबाट आयात हुने सुन १५ दिनपछि व्यवसायीको सिफरिसबिना नै बिक्री गर्न पाइन्छ। यसरी बिक्री गरिँदा त्यस्तो सुन सीमित व्यक्तिको मात्र हातमा पर्न सक्ने हुनाले यसतर्फ सचेत हुनुपर्ने आवश्यकता रहेको महासंघले जनाएको छ।
