आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सरकारसँग दुई लाख ९७ हजार क्विन्टल खाद्यान्न मौज्दात, निषेध आदेशका बेला अभाव नहुने

सरकारसँग दुई लाख ९७ हजार क्विन्टल खाद्यान्न मौज्दात, निषेध आदेशका बेला अभाव नहुने

कम्पनीसँग हाल चामलको मौज्दात एक लाख ६ हजार ३९५ क्विन्टल, धानको मौज्दात एक लाख ८६ हजार ४४० क्विन्टल र गहुँको मौज्दात चार हजार ३८८ क्विन्टल रहेको तथ्यांक छ।
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं - देशका विभिन्न ठाउँमा निषेध आदेश जारी गरिएको छ। यद्यपि अत्यावश्क वस्तु ओसारपसार तथा ढुवानीमा अवरोध सिर्जना हुने छैन। 

अत्यावश्यक वस्तुको ढुवानीमा कहीँकतै अवरोध सिर्जना भए खबर गर्ने उद्देश्यले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले र्‍यापिड रेस्पोन्स टिम खडा गरेको छ। त्यसले पनि खाद्यान्नलगायतका अत्यावश्यक वस्तुको ढुवानी तथा आपूर्तिमा समस्या नहुने विश्वास मन्त्रालयले लिएको छ।

साथै मन्त्रालय मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुनै कारणवश खाद्यान्न अभाव भए आफूसँग विकल्प रहेको जानकारी दिएको छ। 

कम्पनीकी योजना विभाग प्रमुख शर्मिला सुवेदीले कम्पनीसँग पर्याप्त खाद्यान्न मौज्दात रहेको जानकारी दिँदै सर्वसाधारण आत्तिनु पर्ने अवस्था नरहेको बताइन्। ‘हामीसँग खाद्यान्न पर्याप्त मौज्दात छ,’ उनले भनिन्, ‘निजी व्यवसायीबाट कहीँकतै आपूर्तिमा अवरोध भयो र खाद्यान्न संकट आइपरेको विकल्पका रूपमा हामीसँग खाद्यान्न प्रशस्त छ।’

हाल कम्पनीसँग दुई लाख ९७ हजार २२४ क्विन्टल कुल खाद्यान्न मौज्दात छ। कम्पनीसँग हाल चामलको मौज्दात एक लाख ६ हजार ३९५ क्विन्टल, धानको मौज्दात एक लाख ८६ हजार ४४० क्विन्टल र गहुँको मौज्दात चार हजार ३८८ क्विन्टल रहेको तथ्यांक छ।

हाल सुगम जिल्लामा ७९ हजार ९८८ क्विन्टल चामल तथा दुर्गम जिल्लाहरूमा २६ हजार ४०६ क्विन्टल चामल रहेको कम्पनीको तथ्यांक छ।

त्यस्तै कम्पनीले ५० हजार क्विन्टल चामल र ३० हजार क्विन्टल गहुँ खरिद प्रक्रियामा रहेको समेत जानकारी दिएको छ।

हालसम्म कम्पनीले सुगमका जिल्लाहरूमा एक लाख आठ हजार ५४७ क्विन्टल खाद्यान्न बिक्री वितरण गरेको र दुर्गम जिल्लाहरूमा ७० हजार २८२ क्विन्टल गरी कूल एक लाख ७८ हजार ८२९ क्विन्टल खाद्यान्न बिक्री वितरण गरिसकेको कम्पनीको विवरणमा उल्लेख गरिएको छ।

यता वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना जारी गर्दै बजारमा खाद्यान्न पर्याप्त रहेको बताएको छ। खाद्यान्न पर्याप्त रहेकाले सर्वसाधारणलाई नआत्तिन विभागले आग्रह गरेको छ। 

खाद्यान्न पर्याप्त हुँदाहुँदै कसैले कालोबजारी गरेमा विभागमा उजुरी गर्न समेत विभागले सूचनमार्फत् आग्रह गरेको छ।

प्रकाशित: Apr 30, 2021| 05:47 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्