थिम्पु– कोरोना महामारीले भारत आक्रान्त भइरहँदा छिमेकी देश भुटान भने ढुक्क छ। भुटानले आफ्ना ९३ प्रतिशत जनतालाई कोरोनाको खोप दिइसकेको छ।
छोटो समयमा पहाडी देश भुटानको सफलता देखेर विश्वका धेरै देश चकित छन्। भुटानका केही यस्ता क्षेत्र छन्, जहाँ जानका लागि सडकसमेत छैन। हिमनदी र अग्ला पहाडले घेरिएको यो देशले भारतले सित्तैंमा दिएको भ्याक्सिनबाट सफलताको नयाँ कथा लेखेको छ।
अहिलेसम्म ९३ प्रतिशत वयष्क जनसंख्यालाई भ्याक्सिनेट गर्ने काम सम्पन्न भइसकेको छ। भारतको सिरम इन्स्टिच्युटमा बनेको अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन गत महिना हेलिकोप्टरमार्फत भुटान पुगेको थियो। त्यसपछि पहाडी देशमा भ्याक्सिनेसन सुरु गरिएको थियो।
स्वास्थ्यकर्मीहरुले एक गाउँबाट अर्को गाउँसम्म भ्याक्सिन लगेर मानिसहरुलाई लगाइदिए। स्थानीय स्वयंसेवी र स्वास्थ्यकर्मीहरुले गाउँका मुखियादेखि मानिसहरुलाई भ्याक्सिनको कुनै साइड इफेक्ट नहुने बताएका छन्।
मार्च अन्तिमबाट सुरु भएको भ्याक्सिनेसन शनिबारसम्म चार लाख ८७ हजारले पहिलो डोज लगाएका छन्। भुटानको स्वास्थ्य मन्त्रालयले कुल वयस्क जनसंख्याको ९३ प्रतिशत मानिसलाई भ्याक्सिनको पहिलो डोज दिइएको जनाएको छ। मार्चको अन्तिमदेखि अप्रिलको सुरुवातमा भुटानमा १२ सय खोप केन्द्रमार्फत खोप दिइएको थियो।
न्यूयोर्क टाइम्सको एक रिपोर्टका अनुसार शनिबारसम्म भुटानमा प्रति १०० मानिसमध्ये ६३ जनाले भ्याक्सिन लगाएका छन्। कोरोना खोप अभियानमा भुटान छैटौं नम्बरमा छ। भुटान यो दरमा भारतभन्दा सात गुणा अघि छ।
भुटानका स्वास्थ्य मन्त्री डैशो डेचेन वांगमोले यो सफलताको श्रेय देशका राजा र जनतालाई दिएका छन्। उनले मानिसहरुले भ्याक्सिन लगाउन कुनै हिचकिचाहट नदेखाएको बताएका छन्। राजाको निर्देशनमा खोप अभियान प्रभावकारी ढंगले संचालन भएको उनले जनाए।
सात लाख ५० हजार जनसंख्या भएको सानो देश भएका कारण भुटानले यो आँकडा छोएको हो। भुटान सरकारले पहिलो डोज लिएकाहरुलाई ८ देखि १२ साताको बीचमा दोस्रो डोज दिने तयारी भइरहेको बताएको छ।