काठमाडौं– भोलि बिहीबारदेखि बैंक तथा वित्तीय संस्थाहरु दिनको चार घण्टामात्र खुल्ने भएका छन्।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुसँग बुधबार गरेको छलफलपछि उपत्यका र निषेध आदेश जारी भएका जिल्लाहरुमा बैंक तथा वित्तीय संस्थाले दिनको जम्मा चार घण्टा कार्यालय खोलेर सेवा दिने सहमति भएको छ।
बैंकहरुले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र सेवा दिने र कोभिड १९ को संक्रमण र मानिसहरुको उपस्थितिलाई हेरेर थप निर्णय गर्ने सहमति भएको नेपाल बैंकर्स संघले जनाएको छ।
सरकारले भोलिदेखि उपत्यका र भारतसँग नाका जोडिएका धेरै स्थानहरुमा निषेध आदेश गर्ने निर्णय गरेको छ। बैंकका शाखाहरु नखुले पनि एटीएम भने सबै सञ्चालनमा हुनेछन्।
सकेसम्म ग्राहकहरुलाई अनलाइनमार्फत नै कारोबार गर्न आग्रह गर्ने र स्वस्थ मापदण्ड पूरा गरेर मात्र शाखाहरु खोलिने निर्णय भएको बैंकर्स संघका प्रवक्ता अनिल शर्माले जानकारी दिए।
