काठमााडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन्।
मंगलबार ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री पम्फा भुसाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका हुन्।
‘प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न आज ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाललाई निर्देशन दिनुभएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ।
यसअघि पनि विद्युत प्राधिकरणको निर्देशक रहेका कुलमानलाई नै दोहोर्याउन दबाब थियो। तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले उनलाई नदोहोर्याउने निर्णय गरेको थियो।
देउवाको निर्देशनपछि ऊर्जामन्त्री भुसालले प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर राजीनामा दिन भनेकी छन्। शाक्यले राजीनामा नदिए सरकारले उनलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ।