काठमाडौं– नेपाल सुपर लिगको क्लब धनगढी एफसीलाई मुख्य प्रायोजकको रूपमा चर्चित दक्षिण कोरियाली कम्पनी ‘किया’ले साथ दिएको छ।
विश्व बजारकै चर्चित कार उत्पादन कम्पनीले धनगढी एफसीसँगको सम्झौतासँगै आफ्नो नयाँ लोगो पनि सार्वजनिक गरेको छ। धनगढीले बिहीबार किया नेपालसँग मुख्य प्रायोजनको सम्झौता समेत गरेको छ।
धनगढी एफसीका सुवास शाही र किया नेपालका अनिश लामिछानेले सम्झौता आदानप्रदान गरे।
गो–ड्रिमर्सको स्वामित्वमा रहेको धनगढी एफसीका अध्यक्ष सुवास शाहीले कियासँग जोडिदा पाउँदा खुशी व्यक्त गरे। उनले फुटबलमा बहुराष्ट्रिय कम्पनीको लगानी आउनु हर्षको कुरो भएको बताए।
सम्झौता पत्र आदानप्रदान गरेपश्चात किया नेपालका सहायक महाप्रबन्धक अनिश लामिछानेले विश्वकै खेल जगतमा कियाले सहयोग गर्दै आएको र नेपाली फुटबलमा पनि लगानी गर्न पाउँदा खुशी व्यक्त गरे।
कियाको नयाँ लोगो पनि धनगढी एफसीबाटै सार्वजनिक गरेको छ। कम्पनीको लोगोसहितको जर्सी दुवै खेलाडीले पहिरिएका थिए। किया विश्वकप फुटबल २०१४ र २०१८ को पनि प्रायोजक थियो।