आइतबार, मंसिर २१, २०८२

महामारीमा पनि घटेनन् परदेशिने युवा

 वैदेशिक रोजगार विभागका अनुसार वैशाखको १२ दिनमा ११ हजार २ सय २१ जना नेपाली परदेसिएका छन्। 
 |  बुधबार, वैशाख १५, २०७८

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

बुधबार, वैशाख १५, २०७८

काठमाडाैं-  कोरोना महामारीबीच वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ह्वात्तै बढेको छ। पछिल्लो एक महिना (चैत १ देखि ३१ सम्म) मा श्रम स्वीकृति लिएर २७ हजार ८ सय ७६ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्।  वैदेशिक रोजगार विभागका अनुसार वैशाखको १२ दिनमा ११ हजार २ सय २१ जना नेपाली परदेसिएका छन्। 

National life

औसतमा हरेक दिन एक हजार नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गइरहेको विभागको तथ्यांक छ। २०७६/७७ मा नेपालसहित विश्वका धेरै देशमा लकडाउन भएका कारण चैतदेखि साउनसम्म नेपाली वैदेशिक रोजगारीमा जान पाएका थिएनन्। मंसिरदेखि दैनिक ६ सय  हाराहारीमा श्रम स्वीकृति लिने गरेको वैदेशिक रोजगार विभागका प्रवक्ता महेन्द्रनाथ भट्टराईले जानकारी दिए। 

लकडाउन खुलेसँगै वैदेशिक रोजगारीमा जानेको संख्या पनि ह्वात्तै बढेको प्रवक्ता भट्टराई बताउँछन्। उनी भन्छन्, ‘लामो लकडाउनपछि पनि देशमा रोजगारी उपलब्ध नहुँदा विदेश जानेको संख्या बढेको हो।’  उनका अनुसार वैदेशिक रोजगारीबाट फर्कनेको संख्यामा भने दैनिक ५ देखि ६ सय छ। 

विभागको तथ्यांक हेर्दा २०७६ चैतदेखि वैशाख  १२ गतेसम्म ५१ हजार ४ सय २१ जना युवा रोजगारीका लागि विदेश गएका छन्।  चैतमा २८ हजार ८ सय ७९ पुरुष र १ हजार  ९ सय ९७ जना महिलाले श्रम स्वीकृति लिएका थिए।  वैशाख लागेपछि श्रम स्वीकृत लिनेको संख्या बढेको छ। भट्टराई भन्छन्, ‘दैनिक ६ सय हाराहारीले श्रम स्वीकृत लिने गरेका छन्।’ 

काठमाडौंमा बिहीबारदेखि  निषेध आदेश भएको छ। भट्टराई भन्छन्, ‘हवाई उडान खुलै रहेका कारण यसबीचमा पनि विदेश जानेको संख्या घट्ने छैन।’ उनले श्रम स्वीकृति बन्द गर्ने विषयमा निर्णय नभएको बताए।

Laxmi sunrise bank
kumari

वैदेशिक रोजगारीका लागि नेपाली कामदार साउदी, कतार, मलेसिया, यूएई, कुवेत लगायत मुलुक जाने गरेका छन्। 
यी मुलुकमा दोस्रो लहरको कोरानाले खासै असर नगरेकाले रोजगारीमा जाने युवाको संख्या बढेको विभागका अधिकारी बताउँछन्। 

पछिल्लो समय कतिपय मुलुकले आप्रवासी कामदार प्रवेशमा रोक लगाएका छन्। मलेसिया, दक्षिण कोरिया लगायतमा कोभिड महामारीपछि नेपाली श्रमिकले प्रवेश पाएका छैनन्।  विदेशबाट रोजगारी गुमाएर फर्किएका तथा देशभित्रै बेरोजगारीले पिरोलिएका युवाका लागि सरकारले रोजगारीका अवसर सिर्जना गर्न सकेको छैन।

युवालाई आन्तरिक रोजगारीमै आकर्षित गर्ने उदेश्यले अघि सारिएको प्रधानमन्त्री रोजगार कार्यक्रम पनि प्रवभाकारी बन्न सकेको छैन। कार्यक्रममार्फत न्यूनतम १०० दिनको रोजगारी दिने भनिए पनि त्यसमा पहुँच हुनेले मात्र मौका पाएका छन्। यस्तै काम दीर्घकालीन नहुनु तथा ज्यालासमेत कम हुनुले कार्यक्रममा युवा आकर्षण घटेको छ।

आव २०७७/०७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुई लाख विपन्न बेरोजगार युवालाई १०० दिनको रोजगारी दिने लक्ष्य छ। तर कार्यक्रमले अधिकांश विपन्न वेरोजगार युवालाई समेट्न सकेको छैन। 

प्रकाशित: Apr 28, 2021| 05:56 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्