काठमाडौं‐ नेपाल राष्ट्र बैंकले १ खर्ब ४२ अर्ब रुपैयाँभन्दा बढी पुनर्कर्जा स्वीकृत गरेको छ। मंगलबार राष्ट्र बैंकको ६६औँ वार्षिकोत्सवमा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले हालसम्म १ खर्ब ४२ अर्ब १७ करोड रुपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत भएको बताए।
त्यस्तै, राष्ट्र बैंकले एकमुष्ठ प्रदान गरिने पुनर्कर्जातर्फ ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थालाई दुई पटक गरी कुल ९२ अर्ब ३८ करोड रुपैयाँको पुनर्कर्जा स्वीकृत भएको अधिकारीले जानकारी दिए।
एकमुष्ठतर्फ प्रवाह भएको पुनर्कर्जामा बैंक तथा वित्तीय संस्थाले छानेका लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जातर्फ ३५ हजार ५५४, विशेष पुनर्कर्जातर्फ २ हजार ३३ र साधारण पुनर्कर्जातर्फ १० हजार ९६३ गरी कुल ४८ हजार ५५० लाई पुनर्कर्जा प्रवाह गरिएको राष्ट्र बैंकले जनाएको छ।
बैंक तथा वित्तीय संस्थाका प्रत्येक शाखाबाट कम्तीमा ५ ऋणीलाई समेट्नुपर्ने व्यवस्था भएबमोजिम देशको कुल ५१९ भन्दा बढी स्थानीय तहमा रहेका बैंक तथा वित्तीय संस्थाका ऋणीसम्म पुगेको पनि राष्ट्र बैंकको दाबी रहेको छ।
राष्ट्र बैंकका अनुसार इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाबाट एकमुष्ठ रुपमा प्रदान गरिने पुनर्कर्जातर्फ २८ वटा लघुवित्त वित्तीय संस्थाको लागि १० अर्ब २३ करोड रुपैयाँको पुनर्कर्जा स्वीकृत भएको छ। २० करोड रुपैयाँसम्मको पुनर्कर्जातर्फ फागुन मसान्तसम्म २८१ ऋणी लाभान्वित हुने गरी ३९ अर्ब ५६ करोडको पुनर्कर्जा स्वीकृत भएको पनि बैंकले जनाएको छ।