काठमाडौं‐ नेपाल राष्ट्र बैंकका दुईजना डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले आफूसँग भएको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनीहरुले गत चैत गत २२ गतेसम्मको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।
उनीहरुसँग घर, जग्गाका साथै विभिन्न कम्पनीको सेयर पनि पर्याप्त देखिएको छ। डेपुटी गभर्नर मिश्रको भने एक करोड १६ लाख रुपैयाँ कर्जासमेत रहेको देखिएको छ। पुर्ख्यौली घर झापा भए पनि टोखाको सुनगाभा कोलोनीमा बस्दै आएकी वरिष्ठ डेपुटी गभर्नर ढुंगानाको आफू, पति विष्णुप्रसाद तिम्सिना र छोरा अथर्व तिम्सिनाको नाममा विभिन्न ठाउँमा सम्पत्ति छ।
टोखामा उनको २८४.५ वर्गमिटरमा बनेको तीन तले पक्की घर छ, जुन उनले १५ लाखमा ०६१ सालमा जग्गा किनेर बनाएकी हुन्। सो घर उनले पैतृक सम्पत्ति बेचेर र जागिरबाट कमाएको पैसासमेत जोेडेर बनाएको बताएकी छन्।
यसबाहेक झापामा उनको आफ्नै र पतिको नाममा जग्गा छ। त्यसैगरी पति र छोराको नाममा १७ वटा वाणिज्य बैंक र २ वटा अन्य कम्पनीको सेयर छ।
ढुंगाना परिवारसँग ४५ तोला सुन र ५० तोला चाँदी पनि छ। त्यस्तै विभिन्न बैंकमा उनको परिवारको १ करोड ४० लाख रुपैयाँ नगद मौज्दात छ। १८ बैंक तथा वित्तीय संस्थामा उनीहरूको सेयर छ। सेयर संख्या २० कित्तादेखि २३ सय २० कित्ता रहेको पाइएको छ। सवारी साधनको नाममा उनीहरूसँग एउटा बाइक र एउटा कार छ। उनले विदेश भ्रमणबाट ४० लाख र नेपाल राष्ट्र बैंकको विभिन्न विभागमा काम गर्दा ५ लाख बराबरको बैठक भत्ता बुझेकी छन्।
निलम ढुंगानाकाे सम्पत्ति
अर्का डेपुटी गभर्नर मिश्रको सम्पत्ति पनि पर्याप्त नै रहेछ। उनको काठमाडौं बूढानीलकण्ठमा साढे ७ लाखमा किनेको घर छ। सो घर श्रीमती सीतादेवी कुँवरको नाममा राखेका छन्। मिश्रको झापाको ७ ठाउँमा जग्गा छ। सो जग्गा उनले किनेको, अंशमा पाएको तथा बकस प्राप्त गरेको भनेर उल्लेख गरेका छन्। उनको परिवारसँग २५ तोला सुन तथा २५ तोला चाँदी छ। यो सम्पत्ति ससुरालीबाट पाएको उनले उल्लेख गरेका छन्।
मिश्र, उनकी श्रीमती र दुई छोरी निहारीका र बन्सिकाको नाममा १५ वटा बैंक तथा वित्तीय संस्थामा सेयर छ। उनीहरुसँग ४ लाख रुपैयाँ बराबरको ब्यालेन्स देखिएको छ।
नेपाल राष्ट्र बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबाट उनले १ करोड १६ लाख रुपैयाँ कर्जा लिएको देखिन्छ। उनीहरुको परिवारमा कुनै सवारीसाधन नभएको पनि मिश्रले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।
बमबहादुर मिश्रकाे सम्पत्ति