काठमाडौं– कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)ले विश्वविद्यालयका परीक्षाहरु स्थगित गर्ने निर्णय गरे पनि त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले परीक्षा गराइरहेका छन्। पोखरा, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयले भने सूचना निकालेर परीक्षा स्थगित गरेका छन्।
त्रिभुवन विश्वविद्यालयले पूर्वघोषित परीक्षा कार्यक्रमअनुसार सोमबारका परीक्षा सञ्चालन गरेको छ। सीसीएमसीले परीक्षा रोक्ने निर्णय गरे पनि सोमबारलाई तय भएका परीक्षा नरोकिएको त्रिविले जनाएको छ।
व्यवस्थापन संकायको परीक्षा सकिएको र विज्ञान, मानविकी तथा शिक्षाशास्त्र संकायका परीक्षा सञ्चालन भएर केही विषयको मात्र बाँकी रहेकाले वैशाख १४, १७ र १९ गते सञ्चालन हुने परीक्षा नरोकिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। उनले भने, ‘अन्य परीक्षाका कार्यक्रम स्थगित भए पनि सञ्चालनमा रहेका परीक्षा भने स्थगित हुने छैनन्। परीक्षा स्थगित गर्नेबारे मन्त्रिपरिषद्बाट निर्णय भएर आधिकारिक पत्र नआएसम्म परीक्षा यथावत् सञ्चालन हुन्छन्।’
काठमाडौं विश्वविद्यालयले पनि आफ्नो परीक्षालगायत कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ। विश्वविद्यालयले अहिले तत्काल परीक्षा स्थगित नगर्ने र कोभिडको अवस्थालाई हेरेर मात्र निर्णय गर्ने विश्वविद्यालयका प्रवक्ता इक्कुमाया पुनले जानकारी दिइन्। पूर्वाञ्चल विश्वविद्यालयले पनि परीक्षा गराइरहेको छ।
पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक सूर्यप्रसाद सिटौलाले भने, ‘हामीले परीक्षा सञ्चालन गर्ने कि रोक्ने भन्ने विषयमा छलफल गरेका छौं। आज साँझसम्ममा एउटा निर्णयमा पुग्छौ। विद्यार्थीको तयारी र मर्मलाई मध्यनजर गर्दै परीक्षा सञ्चालन गरेका हौं।’
यता पोखरा विश्वविद्यालयले भने सम्पूर्ण परीक्षा स्थगित गरेको छ। विश्वविद्यालयले सूचना जारी गर्दै सञ्चालनको तयारीमा रहेका र हाल जारी रहेका परीक्षाहरू स्थगित गरेको जनाएको हो।
त्यसैगरी मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पूर्वनिर्धारित सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। सीसीएमसीको निर्देशन पालना गर्दै परीक्षा स्थगित गर्ने निर्णय गरिएको विश्वविद्यालयले जनाएको छ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आजैबाट सञ्चालन हुने गरी तय गरेको विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातक तहको परीक्षा स्थगित गरेको छ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले पनि आफ्ना सम्पूर्ण परीक्षा स्थगित गरेको जनाएको छ। परीक्षा स्थगित गर्नुपर्ने विषयलाई लिएर यसअघि नै विद्यार्थीले त्यहाँ तालाबन्दी गरेका थिए।
शिक्षा मन्त्रालयले भने सीसीएमसीले परीक्षा स्थगित गर्ने निर्णय गरिसकेकाले विश्वविद्यलायले पनि परीक्षा स्थगित गर्नुपर्ने जनाएको छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘सीसीएमसीले गरेको निर्णय नै आधिकारिक निर्णय हो। विश्वविद्यालयले परीक्षा सञ्चालन गर्नु हुँदेन। सोमबारका परीक्षा भने विद्यार्थी परीक्षा केन्द्रमा नै पुगिसकेको हुनाले डीसीसीएमसीको अनुमतिमा सञ्चालन भएका हुन्। महामारीको अवस्थालाई ध्यानमा राख्दै भौतिक रुपमा पठनपाठन र परीक्षाका कार्यक्रम स्थगित गर्नुपर्छ।’
सरकारले गरेको निर्णय नै कसैले कार्यान्वयन गर्ने, कसैले नगर्ने गर्दा विद्यार्थीलाई भने अन्योलको अवस्था सृजना भएको छ।