साओ पाउलो– ब्राजिलमा कोभिड १९ को प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ९० हजार भन्दा बढी पुगेको बताइएको छ। संक्रममणबाट तीन लाख ९० हजार ७९७ जनाको मृत्यु भएको आइतबार ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टामा कोभिड–१९ को संक्रमणका कारण एक हजार ३०५ जनाको मृत्यु भएको छ। त्यसैगरी ब्राजिलमा हालसम्म एक करोड ४३ लाख ९३ हजार २०५ जना संक्रमित भएका छन्।
गत २४ घण्टामा कोभिड–१९ का करिब ३३ हजार जना संक्रमित थपिएका छन्। ब्राजिलमा हाल स्वास्थ्य प्रणालीमा नै समस्या उत्पन्न भएको देखिएको छ। यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले कोभिड–१९ का कारण भयानक मात्रामा तनाव खेपिरेहको पनि बताएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि यहाँका अस्पतालले बिरामीको चाप थेग्न सकेका छैनन्। जसका कारण संक्रमण भएर गम्भीर अवस्थामा पुगेकाहरुको उपचारमा पनि समस्या भएको जनाएका छन्।
उता यहाँ कोरोना विरुद्धको खोप लगाउने क्रम पनि जारी नै छ। तर हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रणको उपाय लकडाउन नै भएको विज्ञहरुको दाबी छ।तर राष्ट्रपति जैर बोल्सोनारोले भाइरसको नियन्त्रणका लागि कुनै पनि प्रतिबन्ध तथा लकडाउन घोषणा गरेका छैनन्। रासस