जटिल प्रकृतिका संक्रमितका लागि अत्यावश्यक मानिने अक्सिजन, आईसीयू र भेन्टिलेटरजस्ता सेवाहरू कर्णालीका सबै जिल्लामा छैनन्।
सुर्खेत – कर्णाली प्रदेश पनि कोरोना दोस्रो लहरको चपेटामा परेको छ। प्रदेशमा संक्रमितको दर दिनप्रतिदिन उकालो लागिरहेको छ।
प्रदेशभर सक्रिय संक्रमितको संख्या ४०० पुगेको छ। तीमध्ये सुर्खेतका ३००, सल्यानका ६६, दैलेखका ३० र जाजरकोटका ३४ जना छन्।
संक्रमित ज्येष्ठ नागरिकमध्ये झण्डै १० प्रतिशतलाई अक्सिजन दिनुपर्ने अवस्था छ। संक्रमण अझै फैलिँदै गए अधिकांश संक्रमितलाई अक्सिजन आवश्यक नपर्ला भन्न सकिँदैन। तर, कर्णालीमा भने संक्रमितको उपचारका लागि पूर्वतयारी शून्यजस्तै छ।
जटिल प्रकृतिका संक्रमितका लागि अत्यावश्यक मानिने अक्सिजन, आईसीयू र भेन्टिलेटरजस्ता सेवाहरू कर्णालीका सबै जिल्लामा छैनन्।
१० जिल्लामध्ये मुगु, कालीकोट, दैलेख, सल्यान, रुकुमपश्चिम, जाजरकोट र डोल्पा जिल्लामा अक्सिजन प्लान्ट छैन। ती जिल्लाले बाह्य जिल्लाबाट अक्सिजन खरिद गरेर ८–१० जना बिरामीलाई मात्रै सेवा दिन सक्ने सम्बन्धित अस्पतालहरूले जनाएका छन्।
सुर्खेत, जुम्ला र हुम्लामा अक्सिजन प्लान्ट छ। तर, हुम्लामा विद्युत् अभावका कारण अक्सिजन उत्पादन हुँदैन। त्यहाँ बाह्य जिल्लाबाट अक्सिजन सिलिन्डर आपूर्ति गरेर २३ वटा बेडमा अक्सिजन सप्लाई गर्न सक्ने क्षमता छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ३०० बेड र प्रदेश अस्पताल सुर्खेतमा ४० बेडबाट अक्सिजन दिन सकिन्छ।
सुर्खेत र जुम्लामा पनि न्यून मात्रामा (दैनिक ८ देखि १० सिलिन्डर) अक्सिजन उत्पादन हुन्छ। अहिलेकै गतिमा संक्रमण फैलिए कर्णालीमा अक्सिजन अभाव हुने प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकलपर्सन डाक्टर केएन पौडेल बताउँछन्।
‘संक्रमित भएका जेष्ठ नागरिकलाई अक्सिजन अनिवार्य देखिन्छ,’ उनी भन्छन्, ‘अहिलेकै गतिमा संक्रमित थपिए कर्णालीमा अक्सिजन अभाव हुन्छ।’
प्रदेश अस्पतालमा हाल १९ जना संक्रमितलाई अक्सिजन दिनुपर्ने छ। बिरामीको संख्या वृद्धि हुँदै गएको कारण तत्काल अक्सिजन उत्पादन क्षमता बढाउनुपर्ने डाक्टर पौडेल बताउँछन्। यद्यपि हाल सुर्खेतबाहेकका जिल्लामा भने अक्सिजन दिनुपर्ने अवस्थाका संक्रमितहरू छैनन्।
अक्सिजन प्लान्ट मात्रै होइन, कर्णालीका सात जिल्ला अस्पतालमा रहेका आईसीयू र भेन्टिलेटर सेवा पनि प्रयोगविहीन छन्। जनशक्ति अभावका कारण सुर्खेत, जुम्ला र हुम्ला बाहेकका जिल्ला अस्पतालमा रहेका भेन्टिलेटर र आईसीयू सेवा सञ्चालनमा आएका छैनन्।
जाजरकोटमा भौतिक संरचना र जनशक्ति अभावका कारण आईसीयू र भेन्टिलेटर थन्काइएका छन्। रुकुमपश्चिममा आईसीयू र भेन्टिलेटर बेडहरू तयार भए पनि जनशक्ति अभावका कारण प्रयोगविहीन छन्।
मुगुमा आईसीयू र भेन्टिलेटर भवन छुट्याइएको छ। तर, जनशक्ति अभावमा त्यहाँ पनि आईसीयू र भेन्टिलेटर प्रयोगविहीन छन्।
डोल्पा, कालीकोट, दैलेख र सल्यान अस्पतालमा भेन्टिलेर र आईसीयू सेवा जनशक्ति अभावका कारण प्रयोगविहीन छन्। अक्सिजन, जनशक्ति र भौतिक पूर्वाधार अभावका कारण आईसीयू र भेन्टिलेटर प्रयोगविहीन बनेको सम्बन्धित अस्पतालहरूले जनाएका छन्।
कर्णाली प्रदेशभर ६२ वटा आईसीयू बेडहरू छन्। जसमध्ये हुम्ला, कालीकोट र दैलेखमा पाँच–पाँच वटा, मुगु, जाजरकोट, रुकुमपश्चिम र सल्यानमा दुई–दुईवटा, प्रदेश अस्पताल सुर्खेतमा २५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १० र चौरजहारी अस्पताल रुकुमपश्चिममा चारवटा आईसीयू बेडहरू छन्।
त्यस्तै प्रदेशभर कुल २७ भेन्टिलेटर बेडहरूमध्ये जाजरकोट, रुकुमपश्चिम, सल्यान, डोल्पा र मुगुमा एक÷एक हुम्ला, कालीकोट र दैलेखमा दुई–दुई, प्रदेश अस्पताल सुर्खेतमा १० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ६ बेड भेन्टिलेटर सेवा छन्।
जटिल प्रकृतिका बिरामीको उपचारका लागि आईसीयू र भेन्टिलेटर सेवा अत्यावश्यक मानिन्छन्। प्रदेशमा भने भएका उपकरणहरू पनि जनशक्ति नहुँदा प्रयोगमा ल्याउन सकेको छैन।
यता कर्णाली प्रदेश सरकारले भने संक्रमणको अवस्था जटिल भएको खण्डमा जनशक्ति व्यवस्थापन गरेर सबै आईसीयू र भेन्टिलेटर सेवा सुरु गर्ने दाबी गरेको छ। ‘जनशक्ति अभावका कारण भेन्टिलेटर र आईसीयू सेवा बन्द भएका हुन् तर आपतकालीन अवस्था आए सबै सेवा सञ्चालनमा ल्याउँछौँ,’ कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले भनिन्, ‘जटिल प्रकृतिका बिरामीलाई सुविधायुक्त अस्पतालमा पुर्याएर उपचार गर्छाैँ।’
सामाजिक विकास मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेकी मन्त्री केसी अक्सिजन अभाव हुन नदिन उत्पादन क्षमता वृद्धि गर्ने दाबी गरिन्।