काठमाडौं‐ नेपाल समयकर्मी शर्मिला ठकुरी सहकारी बैंक पत्रकारिता सम्मान/पुरस्कारबाट सम्मानित भएकी छन्। राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिकोत्सवका अवसरमा मगंलबार आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माबाट ठकुरी सम्मानित भएकी हुन्।
सहकारी क्षेत्रको समाचार संकलन र सम्प्रेषणमा उल्लेखनीय योगदान गरी सहकारी विकास, प्रवर्द्धन र सामाजिक रूपान्तरणमा योगदान पुर्याएको भन्दै बैंकले उनलाई सम्मान गरेको हो। करिब दशकदेखि पत्रकारितामा सक्रिय ठकुरी नेपाल सहकारी पत्रकार समाजकी कोषाध्यक्षसमेत हुन्।
यसैगरी बैंकले सहकारी व्यक्तित्व सम्मानबाट राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष केशव बडाललाई पनि सम्मानित गरेको छ।
स्थापना दिवसकै अवसरमा बैंकको आयोजनामा मंगलबारबाट दुई दिने ‘सहकारीमा लघुवित्त सम्मेलन’ समेत सुरु भएको छ। सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले सहकारीको सेवा गरिब, निम्न वर्गसम्म पुग्नुपर्ने बताए।