सुर्खेत-
घटना : १
दैलेखको दुल्लु नगरपालिका २ का ३८ वर्षीय पुरुष चैतको दोस्रो साता गाउँ फर्किए। भारतबाटै संक्रमित भएर आएका उनको अवस्था त्यस्तो जटिल भने थिएन। त्यहाँ संक्रमण उच्च हुँदै गर्दा उनले गाउँ नै सुरक्षित ठाने र घरको बाटो तताए। नेपाल-भारत सीमा नेपालगञ्जको रुपैडिहा नाकामा एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो।
कोरोना देखिँदा पनि उनको व्यवस्थापन भएन। उनी गाउँ पुगे। गाउँ पुगेको हप्तादिनपछि भने उनको स्वास्थ्यमा समस्या देखियो। उपचार गर्दागर्दै वैशाख ४ गते दुल्लु अस्पताल उनको मृत्यु भयो। जिल्ला जन स्वास्थ्य कार्यालय दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीका अनुसार उनीसँगै गाउँ फर्किएका केही व्यक्तिहरुमा पनि संक्रमण देखिएको छ।
घटना : २
रुकुम पश्चिमको मुसिकोट नगरपालिका –७ की ४० वर्षीया महिला चैतको अन्तिम हप्ता गाउँ फर्किइन्। भारतमा कोरोना भयाभहको संकेतपछि उनी गाउँ फर्केकी हुन्। गाउँ फर्कदै गर्दा रुपैडिहा नाकामा कोरोना परीक्षण भयो। कोरोना पुष्टि नभएपछि घर गएकी उनमा हप्तादिनमै स्वास्थ्यमा समस्या देखियो। कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि उपचारका लागि वैशाख ३ गते जिल्ला अस्पताल सल्लेमा पुगिन्। कोरोना परीक्षण गराउँदा पोजेटिभ देखियो।
अवस्था सामान्य भएकै कारण भेन्टिलेटर तथा आइसुयीमा राख्नुपर्ने अवस्था थिएन। तर वैशाख ६ गते उनको मृत्यु भयो। जिल्ला जन स्वास्थ्य कार्यालय रुकुम पश्चिमका कोरोना फोकल पर्सन ईश्वर रावलका अनुसार उनीसँगै गाउँ फर्किएका अन्य चार जनामा पनि संक्रमण देखिएको छ। आफन्त र छरछिमेकीहरु होम आइसोलेसनमा बसेका छन्। ‘भारतबाट आएकामा कोरोना देखिन थालेको छ’ रावलले भने, ‘अब गाउँगाउँमा संक्रमण फैलिने खत्तरा छ।’
घटना : ३
सल्यानको बनगाड कुपिण्डे नगरपालिका ३ का ५६ वर्षीय पुरुष चैतको अन्तिम दिन गाउँ फर्किए। रोजागारीका लागि भारतको सिमला पुगेका उनलाई कोरोनाले गाउँ फर्काइदियो। बाटोमा रुपैडिहा र सुर्खेतको बबई नाकामा सामान्य चेकजाँच गरियो र गाउँ पठाइयो।
कोरोना संक्रमणबाट बच्ने आशले गाउँ फर्किएका उनले अन्नतः कोरोनाकै कारण ज्यान गुमाउनु पर्यो। वैशाख १० गते नेपालगञ्ज मेडिकल कलेज (शिक्षण अस्पताल कोहलपुरमा) उनको मृत्यु भयो। नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बासु पोखरेलका अनुसार उनीसँगै गाउँ फर्किएका अन्य दुई जनामा पनि संक्रमण देखिएको छ। ५६ वर्षीय ती पुरुषको मृत्युपछि गाउँमा त्रास छ। परिवार र छिमेकीलाई आइसोलेसनमा बस्न निर्देशन दिइएको छ।
दैलेख, रुकुमपश्चिम र सल्यानमा भएका उल्लेखित घटना प्रतिनिधि मात्र हुन्। संक्रमण उच्च भएपछि रोजीरोटीका लागि भारत गाउँ फर्कनेको लर्को छ। तर सीमामा गतिलो परीक्षण हुँदैन। गाउँमा साबधानी छैन। जिल्लामा क्वारेन्टिनहरु निर्माण गरिएका छैनन्। अघिल्लो वर्ष जस्तो लकडाउन छैन। नाकामा सामान्य चेकजाँचकै भरमा भारतबाट फर्केकाहरु गाउँ पुगेका छन्। परिणामतः भारतबाट गाउँ फर्कनैहरुबाटै नै संक्रमण गाउँ–गाउँमा फैलिन थालेको छ।
चैत मसान्तसम्म सुर्खेतमा मात्रै संक्रमण रहेको कर्णालीमा शुक्रबार साँझसम्म मुगु र हुम्लाबाहेकका जिल्लामा पुगिसकेको छ। कोरोना गाउँगाउँमा पुगिसक्दा पनि कर्णालीमा सुरक्षा सतर्कता अपनाइएको छैन। कर्णालीका सीमाना (सुर्खेतको बबई, कुइने र सल्यानको कपुरकोटमा) स्थापना गरिएका हेल्थ डेस्कमा ज्वरो नापेर गाउँ पठाउने गरिएको छ।
स्थानीय तह र कर्णाली प्रदेश सरकारले पनि भारतबाट आउने नागरिकलाई सुरक्षित स्थानमा राख्ने र गाउँ पुगेपछि क्वारेन्टिनमा राख्नेलगायतको साबधानी अपनाएको छैन। ‘अहिले क्वारेन्टिन खोल्नु आवश्यक छैन, सबैले स्वास्थ्य सतर्कता अपनाए पनि बच्न सकिन्छ’ कर्णाली प्रदेश सरकारका प्रवक्तासमेत रहेकी आर्थिक मामिला तथा योजनामन्त्री विमला केसी भन्छिन्, ‘गम्भीर बिरामीलाई एम्बुलेन्स र हेलिकोप्टरबाट उद्धार गर्छौँ, डराउनुपर्नु पर्दैन।’ संक्रमण गाउँगाउँमा फैलिने खतरा बढेपछि प्रदेश सरकारले दुर्गमका संक्रमितलाई हेलिकोप्टर र सुगमकालाई एम्बुलेन्सबाट कोरोना विशेष अस्पतालसम्म पुर्याउने तयारी थालेको छ।